सुनको जिब्रोसहितका ममीहरू भेटिए



एजेन्सी । पुरातत्वविद्हरूले उत्तरी इजिप्टमा गरेको उत्खननको क्रममा दुई हजार वर्ष पुरानो ममी (लास)हरूमा सुनको जिब्रो भेटाएको पुरातत्व मन्त्रालयले जनाएको छ ।

इजिप्सियन र डोमिनकन अनुसन्धानकर्ताहरूको एक टोलीले अलेक्जान्ड्रियाको तापोसिरिसम्याग्ना मन्दिरको हातामा ग्रिक र रोमनकालीन ढुंगा काटेर बनाइएका चिहानमा १६ वटा ममी फेलापरेको हो । कोफिनभित्र ममी जीर्ण अवस्थामा रहेको पाइएको छ । मृत्युपछिको जीवनमा भगवान् ओसिरिसको अदालतमा बोल्न सकून् भन्ने उद्देश्यले तिनीहरूका मुखभित्र सुनका जिब्रो जडान गरिएको विश्वास गरिएको छ ।

प्राचीनकालमा इजिप्सियनहरूले ओसिरिसलाई अपराध जगतको देवता र मृतकहरूका न्यायाधीश मान्ने गर्दथे । उक्त टोलीका प्रमुख पुरातत्वविद् तथा युनिभर्सिटी अफ सान्तो डोमिंगोका प्राध्यापक क्याथलिनले एउटा ममीमा भगवान् ओसिरिसको चित्र पनि अंकित गरिएको जानकारी दिएकी छन् । उनले दोश्रो ममीको टाउकोमा एउटा ताज, सिंगहरू र गोमन कुदिएको बताएकी छन् । त्यसैगरी, सो सिंगारको छातीमा देखाइएको हारमा भगवान् होरसको प्रतीक मानिने बाजको टाउको झण्ड्याइएको छ ।

त्यसेगरी, अलेक्जान्ड्रियास्थित पुरातत्व निकायका महासचिव खालेद एवो एल हामदले सो उत्खनन् क्षेत्रमा ग्रिक र रोमनकालीन महिलाको मलामीमा लगाइने मुखुन्डो, आठवटा सुनका पत्रसहितको मृतकलाई लगाउन दिने माला तथा आठवटा सिंगमरमरको मुखुण्डो पनि फेला परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्