दरबारमार्गको भव्य मञ्च बनाउने श्रेष्ठ



नेपाल समाचारपत्र, काठमाडौं  ।

सभा समारोह गर्दा सबैको आँखा मञ्चमा केन्द्रित हुन्छ । कार्यक्रम गर्नुपूर्व तयार गर्नुपर्ने मञ्च व्यवस्थापनको काम त्यतिकै चुनौतीपूर्ण छ । ठूला कार्यक्रमका लागि तयार गर्नुपर्ने मञ्च बनाउँदा धेरै पक्षमा ख्याल गर्नुपर्ने हुन्छ । मञ्चमा बस्ने व्यक्ति र दर्शक-जनताबीचको समदूरी सम्बन्ध त्यतिकै महत्वपूर्ण हुन्छ ।

दर्शकदीर्घामा बस्ने र मञ्चमा बस्नेबीच हेराइको तादम्यता मिलेन भने मञ्च निरर्थकजस्तै बन्न पुग्छ । सानो मञ्च बनाउन सहज भए पनि ठूला आमसभा, पार्टीको महाधिवेशनमा मञ्चको व्यवस्थापन निकै अर्थपूर्ण हुन्छ ।२०४९ सालमा तत्कालीन एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनको मञ्च व्यवस्थापन गर्ने कार्यमा खटिँदै आउनुभएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले अहिलेसम्म पाँच सयभन्दा बढी मञ्चको व्यवस्थापन गर्नुभएको छ । नेकपाका तत्कालीन महासचिव मदन मण्डारीले पाँचौं महाधिवशेनको मञ्च व्यवस्थापन राम्रो भएको भन्दै श्रेष्ठको प्रशंसा गर्नुभएको थियो । पाँचौं महाधिवेशनपछि पार्टीले आयोजना गर्ने ठूलो जनसभाको मञ्च व्यवस्थापनको काम श्रेष्ठले गर्दै आउनुभएको छ । पार्टीले गर्ने ठूलो आमसभा र जनसभाको कार्यक्रम तयपछि श्रेष्ठको खोजी हुने गरेको छ ।

पार्टीले आयोजन गर्ने कार्यक्रमको मञ्च व्यवस्थापनको काम गर्दै आउनुभएका श्रेष्ठले झन्डै २८ वर्षको अवधिमा पाँच सयभन्दा बढी मञ्च बनाएको बताउनुहुन्छ । मञ्च दर्शकले हेर्दा जति राम्रो देखिन्छ, बनाउने काम पनि त्यतिकै कठिन रहेको बताउँदै उहाँले मञ्च बनाउँदा पार्टीभित्रका असन्तुष्ट पक्षले बिथोल्ने गरेको घटना पनि सुनाउनुभयो । उहाँले भन्नुभयो– ‘२०५४ सालमा नेपालगन्जमा भएको पार्टीको छैटौं महाधिवेशनमा मञ्चको व्यवस्थापन खटिएको थिएँ, त्यति बेला खुकुरी नै हानेर कार्यक्रम बिथोल्न खोजिएको थियो, तर दृढताको साथ मञ्च बनाउने काम गरियो ।’पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मञ्चको व्यवस्थापनको विषयमा श्रेष्ठकै खोजी गर्नुहुन्छ । शुक्रबार दरबारमार्गअगाडि गरिने नेकपा ओली समूहको सभालाई सम्बोधन गर्ने मञ्च बनाउने जिम्मेवारी श्रेष्ठले नै पाउनुभएको थियो । शुरुको भन्दा प्रविधिको कारण अहिले धेरै मानिसहरुलाई सहजरुपमा देख्न सकिने गरी डिजिटल स्क्रिनले सहयोग गरेको बताउँदै श्रेष्ठले मञ्च बनाउँदा धेरै कुराको ख्याल गर्नुपर्ने बताउनुभयो ।

‘सार्वजनिक स्थलमा निकै छोटो समयमा मञ्च बनाउनुपर्छ’, श्रेष्ठले भन्नुभयो– ‘नाराणहिटीअगाडि पनि बिहीबार रातभरमा मञ्च बनाएर आकर्षित बनाउनु निकै कठिन थियो तर सफलतापूर्वक सम्पन्न गर्‍यो ।’ यसपटकको आसभामा किन पार्टीले नारायणहिटी नै छनोट गर्‍यो त भन्ने जिज्ञाशामा श्रेष्ठले भन्नुभयो– ‘काठमाडौंका बानेश्वर, नारायणहिटी र लैनचौर गुगल सर्च गरेर हेर्दा सबैभन्दा उत्कृष्ट नारायणहिटी नै भएकाले कार्यक्रमस्थल तय गरिएको हो ।’कार्यक्रमस्थल तय गर्नुअघि कार्यक्रमस्थलमा अट्ने संख्या, सुरक्षाको अवस्था, प्रचार गर्न सकिने पक्षलगायतका सबैलाई समेटेर तयार पारिएको रिपोर्ट प्रधानमन्त्री ओलीलाई बुझाइएको श्रेष्ठले बताउनुभयो

। मञ्चको सजावट, सुरक्षा र सहभागीको व्यवस्थापन मञ्च बनाउन ध्यान दिनुपर्ने विषय भएको बताउँदै श्रेष्ठले कलात्मकरुपमा निर्माण गरिने मञ्चले धेरै प्रभाव पार्ने बताउनुभयो । मञ्च बनाउन साउन्ड सिस्टमसँग आकस्मिकरुपमा हुन सक्ने घटनाको पूर्वअनुमान पनि गर्न सक्ने बताउँदै उहाँले कार्यक्रम सफल बनाउन मञ्चको व्यवस्थापनको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्