नाजीबाट जोगाउने गाउँलाई २२ लाख युरो छाडियो



भियना, (एजेन्सी)

दोश्रो विश्वयुद्धताका आफू, आफ्ना मातापिता र मावलीतर्फका हजुरआमालाई नाजीहरूबाट बचाउन आश्रय दिने एउटा गाउँलाई ‘एरिक स्कवान’ नामक एक यहुदी अस्ट्रियनले झन्डै २० लाख युरो बराबरको सम्पत्ति छाडेर गएको बुझिएको छ ।

त्यतिवेला किशोरावस्थामा रहेका स्कवानले गुणको बदलास्वरूप दक्षिणपूर्वी फ्रान्समा रहेको ‘सम्वोन–सर–लिग्नन’ नामक एक विकट पहाडी गाउँको नाममा त्यत्रो अपार धनराशि छाडेका हुन् । ९० वर्षको उमेरमा उनको गत वर्षको २५ डिसेम्बरमा मृत्यु भएको थियो ।

त्यतिबेला करिब २ हजार ५ सय यहुदी हिटलरको नेतृत्वमा रहेको नाजी फौजको अत्याचारबाट बच्न भागेर त्यो गाउँमा शरण लिन पुगेका थिए । उनले त्यो गाउँको हितकार्यका लागि छाडेको ठ्याक्कै रकम सार्वजनिक नगरिए पनि गाउँका वर्तमान मेयर जिन मिचेल एराउदले स्थानीय एउटा वेबसाइटलाई रकम २० लाख युरोभन्दा बढी नै रहेको बताएका छन् ।

प्रोटेस्टेन्ट बाहुल्य समुदाय रहेको सो गाउँले निकै साहस प्रदर्शन गरी नाजीपीडित यहुदीहरूको उद्धार गरेको थियो । गाउँलेहरूले तिनीहरूलाई आफ्ना घर र खेतमा लुकाएका थिए ।

विश्वयुद्धको अन्त्यपछि लियोन शहरमा मेडिकल बायोलोजी अध्ययन गरेका स्कवानले एकजना क्याथोलिक महिलासँग विवाह गरेका थिए । उनकी पत्नी कोलेटे पोनथसको पनि गत वर्षको जनवरीमा निधन भएको थियो । तिनीहरूको कुनै सन्तान थिएन ।

प्रतिक्रिया दिनुहोस्