पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन शुरु



 शर्मिला पाठक, काठमाडौं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो ।

गोर्खा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो ।

कारोनाकै कारण लामो समय यस विद्यालयका विद्यार्थी र शिक्षकले पनि अन्यले जस्तै अनलाइनको माध्यमबाट घरबाटनै पठनपाठन अघि बढाएका थिए । एक हप्ताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको कामपा वडा २७ का सदस्य परिवेशमान बज्राचार्यले जानकारी दिनुभयो ।

निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ । भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए ।

प्रतिक्रिया दिनुहोस्