देशलाई विदेशी हस्तक्षेपबाट जोगाउने अन्तिम लडाई निर्वाचन: बास्कोटा



मोतीराम तिमल्सिना ,काभ्र । नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व मन्त्री गोकुल बास्कोटाले १४६ वर्ष देखि लुकाएर राखिएको नेपालको विस्तारीत राज्यको नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरी कार्यान्वयन गरेकै कारण देश भित्र र बाहिरबाट प्रशंसा भएको सहन नसकी पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गरी असहयोग गरेको बताउनु भएको छ ।

नेकपा काभ्रेको दुई महिने पार्टी अभियान संचालनका क्रममा पनौती नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्व मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विदेशी हस्तक्षेपबाट जोगाउने प्रयासको अन्तिम लडाई लडिरहनु भएको बताउनु भयो । ‘नेपाललाई कसैले पनि हेप्न नसक्ने राष्ट्रका रुपमा चिनाउन आगामी निर्वाचन घोषणा गरिएको हो’–नेता बास्कोटाले भन्नुभयो–‘समयमै निर्वाचन सम्पन्न गरी देश र जनताको विकास र समृद्धीको चाहनालाई केपी ओली नेतृत्वको सरकारले मात्रै पुरा गर्न सक्नेछ ।’

पार्टीको अर्काे समुहले गोकुल बास्कोटालाई ७० करोड खै ? भन्दै प्रश्न गरे पछि बास्कोटाले खाँदै नखाएको र हुँदै नभएको घटनालाई अतिरञ्जित गर्ने नेताहरुले कार्यकर्ताहरुबाट उठाएर खाएको ७४ लाखको हिसाव माग्नु भयो । काभ्रेली जनताको पक्षमा झण्डै १० अर्ब बराबरको प्रोजेक्ट स्विकृत भई केहि अर्बको कार्य भईरहेको छ । मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, रयालेमा पोलिटेक्निक विश्वविद्यालय, सेक्युरिटी प्रेस, खानेपानी, सडक, विद्यालय, पुल तथा अन्य पूर्वाधार निर्माणमा करोडौ रकम विनियोजन गरेकाले औडाहा भएर आरोप लगाउनुको कुनै तुक नभएको बास्कोटाले बताउनु भयो ।

नेकपाले इस्यु र एजेण्डाको प्रतिस्पर्धा गर्ने छ’–नेता बास्कोटाले भन्नुभयो–‘अहिलेको लडाँई ब्यक्तिको नभएकाले चुनावमा कुनै पनि हालतमा विचारलाई जिताउनु जरुरी छ ।’ पार्टी कार्यकर्ताहरुलाई चुनावी तयारीमा लाग्न निर्देशन दिदै बास्कोटाले सुर्य चिन्ह न हिजो प्रचण्डको थियो न आज हुन्छ ? भन्दै नआत्तिन अनुरोध गर्नु भयो । संविानधानको धारा ८५ ले प्रतिनिधि सभा विघटन नभए ५ वर्षको म्याद रहने ब्यवस्था गरेकाले पुर्नस्थापना भन्नु प्रतिगमन भएको बताउनु भयो । नेता सुरेश हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरु पुर्व राज्य मन्त्री रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, पनौती नगरपालिका प्रमुख एवं केन्द्रिय सदस्य भिम न्यौपाने, जिल्ला सचिव एवं केन्द्रिय सदस्य नारायण पाण्डे, केन्द्रिय सदस्य कुमार थापा, केन्द्रिय सदस्य डा. अम्बुभवानी कार्की, नेताहरु एवं पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, राजाराम सैजु, सन्तोष केसी,हरिशरण सुर्यबंशी लगायतले मन्तब्य राखेका थिए ।

सोहि कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुलाई नेकपाका नेताहरुले स्वागत गरेका थिए ।
एकै दिन दर्जन स्थानमा कार्यक्रम नेकपा ओली समुहले एकै दिन जिल्लाका दर्जनौ स्थानमा कार्यक्रम आयोजना गरेको छ । १ सय ३५ वटा वडा रहेको काभ्रेमा एकै दिन विभिन्न पालिकाका १२ वटा वडामा वडा स्तरीय भेला तथा कमिटी गठन र पनौतीमा नगर स्तरीय कार्यक्रम आयोजना गरेको हो । पाँचखालको अनेकोट, धुलिखेलको रविओपी, नमोबुद्ध, रोशी तथा बेथान्चोक गाउँपालिकाका वडाहरुमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्