वालिङमा उत्पादित बस्तु बजारसम्म पुर्याउन व्यवस्थित च्यानलको शुरु



भूपराज बस्याल, स्याङ्जा । वालिङमा उत्पादित बस्तुहरुलाई बजारसम्म पुर्‍याउनका लागि संस्थागत शुरुवात् गरिएको छ ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा स्थापना गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था मार्फत उत्पादित बस्तुहरुलाई बजारसम्म पुर्याउने कार्यको शुरुवात् गरिएको हो ।एक कार्यक्रमको आयोजना गर्दै व्यवस्थित बजारको च्यानल सञ्चालन गर्ने संस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले गाँउ गाँउमा उत्पादन हुने कृषि उपज तथा अन्य सामाग्रीहरु व्यवस्थित रुपमा बजारसम्म लगिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाँउ गाँउमा गठन भएका बिषयगत सहकारी तथा संकलनकेन्द्रको समन्वयमा वस्तुहरु बजार सम्म लगिने छ ।”कृषि र उद्यमको बिकास बिना आर्थिक उन्नती नहुने भन्दै नगरप्रमुख खाँणले गाँउगाँउमा उत्पादन बढाउने गरी नगरपालिकाले काम अगाडि बढाएको बताउनु भयो । कोभिडबाट प्रभावित भएका र बिदेशमा रोजगारी गुमाएर आएकाहरुलाई उत्पादनमा जोड्ने गरी गतिबिधि सञ्चालन भईरहेको जानकारी गराउदै नगरप्रमुख खाँणले नागरिकहरुलाई स्वदेशमा नै आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । सञ्चालनमा आएको व्यवस्थित बजारको च्यानलको संस्थालाई स्थानीय सरकारले निरन्तर सहयोग गर्ने उहाँको भनाई छ ।कार्यक्रममा बोल्दैै युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले सबैको ध्यान उत्पादनमा जानु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, उत्पादन र उत्पादकत्वको बृद्धि बिना समग्र आर्थिक बिकास असम्भव छ ।दीगो विकासको स्थानीयकरण अन्तरगत सञ्चालनमा ल्याइएको सहकारी संस्थालाई शुभमकाना दिदै प्रमुख अर्यालले कृषक र उद्यमीको आर्थिक स्तरमा बृद्धि गराउनमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।कुन ठाँउमा कति उत्पादन हुन्छ,कसरी उत्पादन बृद्धि गर्न सकिन्छ,कसरी र कहिले सुरक्षित तरिकाबाट उत्पादित बस्तुहरुलाई बजार सम्म लैजान सकिन्छ भन्नेमा दीर्घकालिन योजना बनाउन प्रमुख अर्यालको सुझाव छ । उहाँले युएनडिपीको तर्फबाट दीर्घकालिन र प्रभावकारी योजना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दीगो बिकासको स्थानीयकरणको कार्यक्रम समेत हस्तान्तरण गर्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले ९ महिनाको अवधीमा दुई हजार ६ सय सात जनालाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले ३० बिधामा ६९ वटा तालिमका कक्षा सञ्चालन गरिएको बताउनु भयो । सो अवधीमा एक सय ५० वटा बिषयगत सहकारीको स्थापना, वडा स्तरमा संकलन केन्द्र सञ्चालनमा ल्याएको बताउनु भयो त्यस्तै एक हजार भन्दा धेरै उद्यमीहरुको कोडिङ तथा व्यवस्थित सूचना प्रणाली मार्फत कृषक तथा उद्यमीहरुको अभिलेख राखि त्पादनमा जोड्ने काम गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले वालिङका उद्यमी तथा कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु सहजरुपमा बजार सम्म पुर्याउने र उनीहरुको आर्थिक स्तरमा बृद्धि ल्याउने गरी योजना निर्माण गरी अगाडि बढिने स्पष्ट पार्नुभयो ।कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष नेत्र प्रसाद पाण्डे, राष्ट्रिय सहकारी बैंकका टिकाराम अधिकारी,युएसएआईडी सुआहाराका अर्जुन सुवेदी,महिला उद्यमी दुर्गा न्यौपाने लगायतले बोल्नुुभएको थियो ।

दियालो संस्थाका अध्यक्ष कविता तिवारीको सभापत्विमा सम्पन्न भएको कार्यक्रम दियालो संस्थाका सहसचिव सीता पंगेनीको स्वागत र सचिव सीता गैह्रे गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।११ करोडको शेयरपूँजी रहने सहकारीले कृषक र उद्यमीको बचत अभियान समेत सञ्चालन गर्ने भएको । संस्थाको उद्घाटनको दिन बिभिन्न क्षेत्रका उद्यमी र कृषकहरुले गरी १ करोड ५० लाख बचत जम्मा गरेको संस्थाका प्रवन्धक बिशाल बगालेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्