शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण



काठमाडौं । शहीद दिवसका अवसरमा काठमाडौं महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । वडा नं १९ को करिब रु छ लाखको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिनुभयो ।

प्याफल चोक शहीद गङ्गालालको पुख्र्यौली थलो हो । बाबु आमाको जागीरको सिलसिलामा रामेछापमा गङ्गालालको जन्म भएपनि उहाँको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ ।प्याफल चोकमा गङ्गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले सो चोकलार्ई गङ्गालालको नामबाट गङ्गालाल चोक घोषणा गर्नुभयो । शालिक राख्न नभई राम्रो काम गरेर गङ्गालाल शहीद भएकाले त्यही बाटो अनुशरण गर्न उहाँले आह्वान गर्नुभयो ।

गङ्गालाल क्लबका अध्यक्ष अशोकमान वज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान शहीदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।यसअघि विसं २०४६ मा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने निर्गुण स्थापितको शालिकमा पनि माल्यार्पण गरिएको थियो । यट्खा चोकमा रहेको स्थापितको शालिकमा वडाध्यक्ष श्रेष्ठलगायत वडाबासीले माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्