राय–परामर्श नगरी एक पक्षीय रुपमा पत्राचार गरेकोप्रति पुरातत्वलाई महानगरको ध्यानाकर्षण



काठमाडौं । कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराउनु भएको हो । कमलपोखरी पुनर्निर्माणका सन्र्दभमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको महानपालिकाको आरोप छ ।

‘काठमाडौं महानगरपालिकाबाट टेण्डर प्रक्रियामार्फत विगत दुई वर्षदेखि भैरहेको कमलपोखरी निर्माणको कामको बारेमा काठमाडौं महानगरपालिकासँग कुनै राय–परामर्श नगरी एक पक्षीय रुपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायहरुबिच समन्वय नभएको सन्देश प्रवाह हुने तथा पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ,’ पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचार पुर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ ।’

काठमाडौं महानगरपालिका र वडा नम्बर–१ काठमाडौं महानगरपालिकाको नाममा लेखेको पत्र संख्या ०७७-०७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नु अघि नै विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको विषयमा विभागलाई महानगरपालिकाले लेखेको पत्रमा ध्यानाकर्षण गराएको छ ।त्यसैगरी काठमाडौं ममानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले पनि तत्कालिन संघीय सांसद गगन कुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उहाँले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन आग्रह गर्नुभएको छ ।

‘कमल पोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईँबाट प्रषित काठमाडौं महानगरपालिकाको प्रमुखलाई सम्वोधन गरिएको मिति २०७७-०९-२६को पत्र प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईँसमेतसँग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईँबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो ।

तपाईको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै कमलपोखरी पुनर्निर्माण अघि बढाएको पुनः दोहोर्याउनुभयो । ‘कमलपोखरीको विकास तथा सुधारका लागि माननीय गगन कुमार थापाले विगतमा गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न हामीले उहाँलाई पत्र पठाएका छौँ,’ शाक्यले भन्नुभयो, ‘उहाँले सबै विवरण पठाई सहयोग गरे लगत्तै कमलपोखरी पुनर्निमाणबारे सकेसम्म कमलपोखरीमै पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ ।’

काठमाडौं महानगरपालिका पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षणको अभियानमा रहेको उहाँले बताउनुभयो । ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ,’ शाक्यले भन्नुभयो, ‘काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौँ ।’उहाँले कमलपोखरी पुर्ननिर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको भन्दै मौलिकता झल्किने गरी सम्पदाको संरक्षण गर्दै कला संस्कृतिलाई जोड्ने र मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेको पनि बताउनुभयो ।

पोखरीको प्रस्तावित ढाँचा तयार गर्ने सन्दर्भमा कमलपोखरी क्षेत्रकै तत्कालिन सांसद थापासँग महानगरपालिकाले सहरी योजना आयोगको कार्यालय, अग्रवाल भवनलगायतका स्थानमा विभिन्न चरणमा छलफल गरेको थियो । थापाले छलफलका क्रममा संसद विकासकोष र नीजि बजेट समेतबाट पटक–पटक पोखरी पुनर्निमाणका लागि बजेट खर्च भएको बताउनु भएको थियो । उहाँले विभिन्न चरणका छलफलमा पछिल्लो समय कमलपोखरी अस्तव्यस्त बनेको, छठ सुरु भएपछि त्यसले केही पुर्नजिवन पाएको, सार्कका बेला आएको बजेटबाट तारबार गर्नेलगायतका काम गरेको पनि बताउनु भएको सहरी योजना आयोगले जानकारी दिएको छ ।

पोखरीको केही जमिन मिचिएको र मिचिएको जमिन पनि कृषि मन्त्रालयको मत्स्य पोखरीको रुपमा रहेको पनि उहाँले छलफलका क्रममा बताउनु भएको थियो ।काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि पुरातत्व विभागले महानगरपालिकासँग कुनै समन्वय नै नगरेको आरोप लगाउनुभयो । पुर्नर्निमाणको लामो समयसम्म अनदेखा गरेर बसेको पुरातत्वले निर्माणकार्यको अन्तिम चरणमा आएर गरेको कार्य उचित नभएको बताउनुभयो ।उहाँले कमलपोखरी रानीपोखरीको जस्तो इतिहास नरहेको भन्दै लामो समयसम्म ढलको रुपमा रहेको कमल पोखरीलाई महानगरले सुन्दर पोखरी बनाउन लागेको बताउनुभयो ।

‘रानीपोखरी ऐतिहासिक सम्पदा हो तर, कमल पोखरी ऐतिहासिक पोखरी हो,’ ज्ञवालीले भन्नुभयो, ‘सम्पदा संरक्षण र सम्र्बद्धन गर्ने कुरामा हाम्रो कुनै कमी रहँदैन । घाँसले भरिएको कमलपोखरीलाई व्यवस्थित गर्दै स्थानीयको समेत सहमतिमा पोखरी पुर्ननिमार्णको काममा महानगरपालिका अघि बढेको ।’पुरातत्व जस्तो राज्यको निकायले समेत विकास निर्माणका कार्यमा असहयोग गर्न खोज्नु राम्रो नभएको काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुखको तर्क छ । ‘कमलपोखरी र रानीपोखरी एउटै हो भन्ने भ्रम फिजाउने काम भैरहेको छ । त्यो गलत छ,’ उहाँले भन्नुभयो, ‘राजनीतिक दलका प्रतिनिधि अभियन्ता र स्थानीयवासीसँग विभिन्न चरणमा छलफल गरेर नै हामीले पोखरी पुर्ननिमाणको डिजाइन तयार गरेका हौँ ।’

 

प्रतिक्रिया दिनुहोस्