गर्भवतीलगायत पाँचको गोली हानी हत्या



वासिङ्टन, (एजेन्सी)

अमेरिकाको इन्डियाना पोलिसमा आइतबार भएको आम गोली काण्डमा पाँचजनाको ज्यान गएको छ । मारिनेमध्ये एक गर्भवती महिला पनि रहेको तथा उनको कोखको बच्चाको पनि ज्यान गएको प्रहरीले बताएको छ । गोली लागेर घाइते भएका अर्का एकजना बालकलाई घटनास्थल नजिकको अस्पतालमा भर्ना गरिएको छ । उनको हालत भने स्थिर रहेको बताइएको छ ।

इन्डियाना पोलिस मेट्रोपोलिटन प्रहरी विभागका प्रमुख -यान्डल टेलरका अनुसार एक दशकको अवधिकै यो सबैभन्दा ठूलो गोलीकाण्ड हो । बिहान चार बजे प्रहरीलाई ९११ कल आएको थियो । प्रहरीले शुरुमा इस्ट थर्टी सिक्स्थ स्ट्रिटको ३३०० ब्लकमा गोली लागेको एक बालकलाई भेट्टाएका थिए ।

त्यसपछि एडम्स स्ट्रिटको ३५०० ब्लकमा पुगेका प्रहरीले एउटा घरभित्र पाँच व्यक्तिलाई मृत अवस्थामा फेला पारेको थियो । सरकारी गुप्तचरहरूले अनुसन्धान थालिसकेका छन् । तर, अझै कुनै संदिग्ध व्यक्ति पक्राउमा परेको छैन । घटना सम्बन्धमा कुन महत्वपूर्ण सूचना जानकारीमा आएको खण्डमा प्रहरीलाई सूचित गर्न सर्वसाधारणलाई आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्