पत्रकार महांसघ भक्तपुरको २२ औं साधारण सभा, दुई पत्रकार सम्मानित



????????????????????????????????????

न्युज अफ नेपाल, भक्तपुर ।

नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरको २२ औं साधारण सभाको अवसरमा भक्तपुरका दुई जना अग्रज पत्रकारलाई सम्मानित गरिएको छ ।

आज भएको साधारण सभामा भक्तपुरका पत्रकारद्वय बरिष्ठ पत्रकार कविर राणा र राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो ।

देशान्तर मिडिया प्रा. लि.का निर्देशक एंव वरिष्ठ पत्रकार राणालाई भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो भने राससका पत्रकार श्रेष्ठलाई मैंयादेवी स्मृति पत्रकारिकता पुरस्कारबाट नगद २ हजार ३ सय रुपैयाँसहित सम्मान गरिएको हो । पत्रकारद्वयलाई महासंघको तर्फबाट वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता धरापमा परेको बताएका छन् । यसलाई जोगाउन पत्रकारहरुले चनाखो भई लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिलिप थापा मगरले संविधानको प्रस्तावनामै ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने सरकारको कदम मान्य नहुने बताए ।

त्यस्तै महासंघका महासचिव रमेश विष्ट महासंघको संस्थागत हित तथा पत्रकारको हकहितको लागि सकृय भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्यद्वय लक्ष्मण कार्की र गोविन्द चौलागांई, महासंघका उपत्यका प्रदेश महासचिव श्रृजन झा, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकी, पूर्व अध्यक्ष नारायण किलम्वु, महासंघ भक्तपुर शाखाको उपाध्यक्षद्वय रोशन सिल्पकार र कविता थापालगायत साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका छन ।

कार्यक्रममा साधारण सभाको बन्दसत्रमा शाखाका सचिव कृष्ण प्रसाद नेपालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहन बल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

कार्यक्रममा महासंघका उपत्यका प्रदेश सचिव अमर भूजु, पुर्व अध्यक्ष रमेश खड्का र विकलश्रेष्ठ, जिल्ला स्थित सक्रिय विभिन्न पत्रकार संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु,महासंघका केन्द्रीय तथा प्रदेश पार्षद लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको बन्दसत्रले महासंघको संस्थागत विकास र पत्रकारको हकहित र मर्यादित पत्रकारीताका लागि भावी कार्यदिशा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्