कोरोनामा क्रिशमस



आज डिसेम्बर २५, क्रिसमस डे । विश्वका २ अर्ब ३० करोड इसाइले सप्रेम मनाउने पर्व । नेपालको संविधान–२०७७ ले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेपछि नेपालमा पनि यस पर्वप्रति सम्मान भाव बढेको र यस दिवसमा रमाइलो गर्नेहरूले बढी स्वतन्त्रताको अनुभव गरेको देख्न सकिन्छ । अरूको मुक्तिका लागि बलिदान गर्ने जिससको जन्मदिनका आधारमा मनाइने यस पर्वप्रति अन्य धर्मावलम्वीको पनि सहिष्णुता देखापर्दछ । यस पर्वको सांस्कृतिक र पौराणिक पृष्ठभूमि आफ्ना ठाउँमा छ, व्यापारिक र आर्थिक पक्ष पनि उत्तिकै प्रभावशाली देखिन्छ । यसै पर्वलाई आधार मानेर सेवा र वस्तुको उपभोग बढ्ने भएकाले उद्यमीहरु महिनौं अघिदेखि उत्पादनको तयारीमा लाग्दछन् । तर, यसपटक कोरोना भाइरसका कारण व्यापारिक गतिविधिमा प्रतिकूल असर परेको देखिन्छ ।

कोरोना संक्रमण कायमै रहेको अवस्थामा देशभरका सबै क्षेत्र विस्तारै चलायमान हुँदै छन् । होटल, रेस्टुरेन्ट, डान्सबारलगायत खुला भइसकेका छन् । चिडियाघर खुलेको छ । बढी भीडभाड हुने पशुपति, गुह्ेश्वरी, मनकामनालगायतका मठ–मन्दिर खुलिसकेका छन् । चन्द्रागिरि केवलकार जस्ता पर्यटकीय क्षेत्रहरु पूरै खुलिसकेका छन् । काठमाडौका केही विद्यालयबाहेक अधिकांश र बाहिरी जिल्लाका सबैजसो विद्यालय खुला भइसकेका छन् । कोरोना संक्रमण भएको भन्दै सरकारले सिनेमा हल मात्र खुला गरेको छैन । तर, कोरोना संक्रमणको त्रास भने हटेको छैन । पछिल्लोपटक बेलायतमा यसको नयाँ प्रजाति देखा प¥यो भन्ने खबरले सबैलाई आतंकित बनाएको छ ।

अंग्रेजी नयाँवर्ष र क्रिसमस लक्षित सबै व्यवसाय खुला भइसकेका छन् । विद्यार्थी मास्कबिना नै विद्यालय जान थालेका देखिन्छन् । अधिकांश क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन । माइतीघर मण्डलामा दैनिकजसो जुलुस भइरहेको छ । प्रदर्शनमा उत्रिएका अधिकांशले मास्क लगाउन छाडेका छन् । सरकार त्यसलाई नियन्त्रण गर्न असफल भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको दर बढ्न सक्ने खतरा रहेको जनाइरहँदा सरकारले धमाधम सबै क्षेत्र खुला गर्न थालेपछि संक्रमण पुनः बढ्न सक्ने देखिएको छ ।

अहिले परीक्षणको संख्या घटाएका कारण संक्रमण र मृत्युदर कम भएको आँंकलन गरिएको छ । यदि परीक्षणको दर बढाउने हो भने विस्तारै संक्रमितको संख्या बढ्ने लगभग पक्का छ । विश्वमा पछिल्लो २४ घण्टामा ५ लाखको हाराहारीको संक्रमित थपिन थालेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना देखिएपछि नेपालमा त्यसको असर नपर्ला भन्न सकिँदैन । त्यही आँकलन गर्दै सरकारले बेलायती र बेलायतबाट नेपाल आउने यात्रुलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

चिकित्सकले अहिलेकै अवस्थामा सबै क्षेत्र खुला नगर्न सरकारलाई बारम्बार आग्रह गरिसकेका छन् । सरकारले जनताको दबाब थेग्न नसकेको भन्दै सिनेमा हल र काठमाडौंका केही विद्यालयबाहेक सबै खुला गरिसकेको छ । कोरोना संक्रमण पुनः बढ्न सक्ने विषयको आँंकलन नगरी हचुवाको भरमा सबै क्षेत्र खुला गर्दा नेपालमा थप संकट पर्न सक्ने देखिएको छ । कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दा त्यसको व्यवस्थापन गर्न नसकेको सरकारले कुनै सोच–विचार नगरी खुला गर्दा नेपालमा थप जटिल परिस्थिति आउन सक्छ भन्ने पक्षलाई पनि बेवास्ता गर्नुहुन्न । सबैमा क्रिसमसको शुभकामना !

प्रतिक्रिया दिनुहोस्