राष्ट्रिय कविता महोत्सवमा भैरवी भूगोल प्रथम



नेपाल समाचारपत्र, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कविता महोत्सवले साहित्यप्रतिको आकर्षण र महŒवलाई उजागर गर्ने बताउनुभएको छ । उहाँले सो कुरा राष्ट्रिय कविता महोत्सव २०७७ तथा नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३औं वार्षिकोत्सवको प्रज्ञा भवन कमलादीमा उद्घाटन गर्दै बताउनुभएको हो ।

मन्त्री भट्टराईले यसखालका कार्यक्रमले ओझेलमा परेका प्रतिभालाई प्रस्फुटन गर्न सहयोग पुर्‍याने धारणा राख्नुुभयो । कला, साहित्य र संस्कृतिको विकासले अन्य क्षेत्रको विकासका लागि पनि सहयोग पुर्‍याउने उहाँको भनाइ थियो ।

त्यसै गरी सो अवसरमा मन्त्री भट्टराईले राष्ट्रिय कविता महोत्सवमा २०४६ देखि २०७६ सम्मका पुरस्कृत कविताको संग्रहको विमोचन तथा विभिन्न कर्मचारीलाई प्रज्ञा दीर्घ सेवा र प्रज्ञासेवा पदक प्रदान गर्नुभयो । सो अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्यायले मन्तव्य राख्नुभएको थियो ।

राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम हुनुभएको छ । उहाँको कविता ‘नेपालको गीत’ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै द्वितीय स्थान लमजुङका प्रज्वल अधिकारीको कविता ‘संकल्प’ले हात पारेको छ । सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार प्रदान गरिने प्रज्ञा प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा सहभागी ५ सय २ कवितामध्ये उत्कृष्ट ३० कवितालाई प्रतिस्पर्धाका लागि छनोट गरिएको प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिनुभयोे । कविता प्रतियोगिताका निर्णायकमा डा. हेमनाथ पौडेल, स्नेह सायमी र प्रभा भट्टराई रहनुभएको थियो । कार्यक्रममा प्रतियोगी तथा अतिथि कविहरुबाट कविता वाचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्