अमेरिकाको राष्ट्रपति पद चुनावमा बाइडेनको जित



वासिंगटन (एजेन्सी)
अमेरिकाको राष्ट्रपति पद चुनावमा डेमोक्र्याट उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले जितेको छ । आफु जन्मेको राज्य पेन्सिलभेनियाको मतगणनाको अन्तिम नतिजा आफ्नो पक्षमा आएपछि बाइडेन अत्यन्तै कडा प्रतिस्पर्धा भनिएको यो चुनाव जीतेको हो । यो जितसँग उनी ४ बर्षका लागि अमेरिकाका राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा रहने छ ।

उनको जितले मौजुदा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादस्पद कार्यकालमा पूर्णविराम लागेको छ । ट्रम्पको हारका कारण उनका समर्थकहरुमा हुन सक्ने हिँसात्मक प्रदर्शन तथा गतिविधि रोक्न सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

उक्त राज्यमा जीतेपछि नै बाइडेनको इलेक्टोरल कलेज भोट २ सय ७३ पुगेको हो । राष्ट्रपतिमा निर्वाचित हुन विजयी उम्मेदवारको इलेक्टोरल मतको आंकडा २ सय ७० पुर्याउन आवश्यक छ । नेभाडाको नतिजा पनि बाइडेनकै पक्षमा आएपछि उनको इलेक्टोरल कलेज भोट २ सय ७९ पुगेको छ ।

कयौं किर्तिमान
बाइडेन निर्वाचित भएसँगै अमेरिकी राष्ट्रपति निर्वाचनमा कयौं किर्तिमान कायम भएका छन् ।
७७ बर्षीय बाइडेन अमेरिकी राष्ट्र्रपति चुनावको इतिहासमा निर्वाचित हुने सबैभन्दा बृद्ध उम्मेदवार हुन् ।
अमेरिकी राष्ट्रपति चुनावमा महत्वपूर्ण स्विंग स्टेट फ्लोरिडा हारेर पनि राष्ट्रपतिमा निर्वाचित हुने उनी पहिलो राष्ट्रपति बनेका छन् ।

उनी अहिलेसम्म कै सबैभन्दा बढी लोकप्रिय मत हासिल गर्ने निर्वाचित राष्ट्रपति भएका छन् । यसअघि यो किर्तिमान बाराक ओबामाको नाममा थियो ।

उनीसँग उपराष्ट्रपति पदमा निर्वाचित भएकी कमला ह्यारिस प्रथम महिला उपराष्ट्र्रपति हुन् ।
कमला ह्यारिस उपराष्ट्रपति पदमा निर्वाचित हुने पहिलो काला तथा दक्षिण एसियाली मुलका अमेरिकी पनि हुन् ।

यस पटकको मतदानमा १ सय २० बर्ष पछि सबैभन्दा बढी प्रतिशत मतदाताले आफ्नो मताधिकारको प्रयोग गरे ।

प्रतिक्रिया दिनुहोस्