अमेरिकी राष्ट्रपति चुनाव : ३ सयभन्दा बढी इलेक्टोरल कलेज भोट प्राप्त हुने बाइडेनको दाबी



वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्र्रपति चुनावको नतिजालाई लिएर एक स्पष्ट खाका देखिसकेको छ । अन्तिम नतिजा आउन बाधक बनिरहेको केही स्विंग स्टेट्सका नतिजाले डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेनको जीत सुनिश्चित भइसकेको स्पष्ट संकेत दिइसकेको छ । यद्यपी मत गणना जारी रहेकोले आधिकारिक नतिजा आउन बाँकी नै छ र दुबै उम्मेदवार चुनावमा आआफ्नो जितको दावी गरिरहेका छन् ।

शनिबार डेमोक्र्याटिक पार्टिका उम्मेदवार बाइडेनले ३ सयभन्दा बढी इलेक्टोरल कलेज भोट हासिल गर्ने तर्फ आफु गइरहेको बताए । उनले भने – हामी यो दौड जित्न गइरहेका छौं ।बाइडेनको उक्त बयानलाई लिएर मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनलाई राष्ट्र्रपति पदमाथि गलत तरिकाले दावी गर्न नहुने बताए ।

उनले भने – म पनि दावी गर्न सक्छु । कानुनी कारवाही भरखरै शुरु भइरहेको छ । परिणामको हिसाबले महत्वपुर्ण राज्यमा मतगणना जारी रहेकोले ट्रम्प सार्वजनिक रुपमा देखिएका छैनन् तर उनी ट्विटरमा सक्रिय छन् । बाइडेनले आधिकारिक तवरमा २५३ इलेक्टोरल कलेज भोट हासिल गरिसकेको छ भने ट्रम्पको यो संख्या २१३ पुगेको छ ।

७७ बर्षिय बाइडेन परिणामका आधारमा पाँच प्रमुख मध्य ४ राज्यमा अगाडी रहेको छ । एरिजोनामा ट्रम्प बाइडेन भन्दा ३८ हजार भन्दा बढी मतले पछाडी परेका छन् । त्यसैगरी ट्रम्प जर्जियामा ४ हजार भन्दा बढी, नेभाडामा करिब २३ हजार, पेन्सिलभेनियामा करिब २० हजार मतले पछाडी परेका छन् । तर नर्थ क्यारोलाइनामा करिब ७७ हजार मतले उनी अगाडी छन् ।

अमेरिकामा राष्ट्रपति चुनावमा जित हासिल गर्न कुनै पनि उम्मेदवार ५ सय ३८ इलेक्टोरल मतमा कम्तिमा २ सय ३० मत हासिल गर्न जरुरी छ ।आफनो पराजय स्पष्ट हुन थालेपछि ट्रम्पले ठुलो परिमाणमा फर्जी मतदान भएको आरोप लगाउँदै आइरहेको छ । बैध मतको गणनामा आफ्नो जित भइसकेको उनले दावी गरेका छन् ।

पेन्सिलभेनिया भए पर्याप्त

इलेक्टोरल कलेज भोटको चमत्कारिक अंक २७० पुर्याउन डेमोक्र्याट उम्मेदवार तथा पुर्व उपराष्ट्रपति जोय बाइडेनलाई पेन्सिलभेनियाको नतिजा मात्रै उनको पक्षमा घोषणा भए भने पनि पर्याप्त हुनेछ । पेन्सिलभेनियाको २० इलेक्टोरल कलेज भोट रहेको छ । त्यसैगरी अन्य प्रमुख राज्य जर्जिया, नेभाडा र एरिजोनाको नतिजामा पनि आधिकारिक घोषणा आएको छैन जहाँ बाइडेनकै अग्रता कायम छ ।

ट्रम्पलाई मास्क लगाउन बाध्य पारिने

ह्वाइट हाउस पुग्न केही इन्चको दुरीमा रहेका जोय् बाइडेनले कोरोना भाइरसको रोकथामका लागि कडा प्रावधान लागु गर्ने संकेत दिएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणको किर्तिमान संख्या आइरहेको छ । शुक्रबार मात्रै अमेरिकामा १ लाख २२ हजार भन्दा बढी संक्रमितको पुष्टी भएको थियो । यस संकटको स्थितिमा बाइडेन समक्ष सबैभन्दा ठुलो चुनौती यो खतरनाक महामारीबाट देशलाई बचाउनु नै हो ।

लक डाउन र मास्क अनिवार्य लगाउनु पर्ने नितिलाई लिएर ट्रम्पको धारणा सकारात्मक रहेन । मास्क लगाउनुलाई लिएर उनले यसलाई ब्यक्तिगत स्वतन्त्रतासँग जोडे र कुनै पनि ब्यक्तीलाई मास्क लगाउन बाध्य पार्न नहुने उनको तर्क रह्यो र उनी आफैले पनि मास्क लगाउनमा धरै नै उदासिनता नै देखाए । अमेरिकाको संक्रामक रोगका विज्ञ डाक्टर फौसी समेत कयौ विशेषज्ञले ट्रम्पको यो फैसलाको आलोचना गरे ।

अब बाइडेन राष्ट्रपति बने लगत्तै सार्वजनिक स्थानमा मास्कको प्रयोग अनिवार्य घोषणा गरे भने त्यतिबेला ट्रम्पलाई पनि मास्क लगाउन आवश्यक हुनेछ । मास्क लगाउनु स्वास्थ्यसँग सम्बन्धित हो र यो संक्रामक रोग भएकोले ब्यक्तीगत नभई सामुहिक स्वास्थसँग जोडिन्छ । ब्यक्तीगत स्वतन्त्रताको नाममा संक्रमित ब्यक्तीको लापरवाहीले अरुलाई रोग सार्नु एक प्रकारको अपराध नै भएको तर्क नउठेको होइन । तर ट्रम्पको अडानलाई यसले कुनै प्रभाव पारेन ।

अहिले सम्म पनि अमेरिका राष्ट्रपति रहेका ट्रम्प धेरैजसो सार्वजनिक सभाहरुमा बिना मास्क नै देखिने गरेका छन् । उनको दावी अनुसार मास्क लगाउनेहरु नै धेरै संक्रमित छन् । तर यो दावी पुष्टि गर्ने उनले कुनै ठोस प्रमाण भने दिएको छैन । कोरोना संक्रमणबाट ठिक भएपछि ट्रम्पले चुनाव प्रचारका क्रममा जोन मुर्था जोन्सटाउनको क्याम्ब्रिया काउन्टी विमानस्थलमा एक र्यालीलाई सम्बोधन गर्ने क्रममा मास्क फुकालेर समर्थकहरु तर्फ फ्याँकेका थिए ।

यसअघि पनि उनले पत्रकारहरुको अगाडी मास्क झिकेका थिए । अनिवार्य मास्क लगाउनु पर्ने नियम आएपछि यसलाई बेवास्ता गर्नेलाई जरिवाना लगायतका विभिन्न सजायँको प्रावधान हुने छ । यसले ट्रम्पलाई असहज पार्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्