ट्रम्प पकड भनिएका राज्यमा समेत बाइडेनको निरन्तर अग्रता



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी छ । मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनमध्ये एकलाई आगामी ४ बर्षका लागि ह्वाइट हाउस पुर्याउने यस दौडको अन्तिम नतिजा ४ वटा राज्यको मतगणनामा अडिएको छ । यसैबीच ट्रम्पको पकड रहेको जर्जियामा भने मत गणनाको स्थिति उल्टिएको छ । यस राज्यको हुलाक मतपत्र गणनापछि बाइडेनले अग्रता हासिल गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति चुनावको मतगणना नतिजालाई लिएर अमेरिकी सन्चार माध्यमहरुमा फरक फरक आंकडा आइरहेको छ । फोक्स र एपी जस्ता सन्चार माध्यमले एरिजोनाको नतिजा बाइडेनको पक्षमा गइसकेको र त्यहाँको ११ इलेक्टोरल मत सहित उनको इलेक्टोरल मत २ सय ६४ पुगेको प्रसारण गरिरहेका छन् । यस आंकडा अनुसार राष्ट्रपति चुनाव जित्न आवश्यक २ सय ७० को चमत्कारिक इलेक्टोरल कलेज मत संख्या पुर्याउन बाइडेन मात्र ६ मतको दुरीमा छ । यो मत उनले नेभाडा राज्यमा जिते लगत्तै प्राप्त गर्न सक्ने अवस्था छ । नेभाडाको इलेक्टोरल कलेज मत ६ नै रहेको छ र त्यहाँ बाइडेनले अग्रता हासिल गरिरहेका छन् । त्यसैगरी राष्ट्रपति ट्रम्पको इलेक्टोरल कलेज मत २ सय १३ पुगेको छ ।

केही सन्चार माध्यमले एरिजोनामा बाइडेनले जित हासिल गरिसकेको बताएपनि त्यसको औपचारिक घोषणा भने भएको छैन । सीएनन, बीबीसी, एवाईटी जस्ता सन्चार माध्यमले बाइडेनको इलेक्टोरल मत २ सय ५३ पुगेको बताएका छन् । ती सन्चार माध्यमले एरिजोनाको इलेक्टोरल मत समावेश गरेका छैनन् । एरिजोनामा अझै हजारौं मत गणना हुन बाँकी रहेको बताइएको छ । यदि एरिजोनाको सबै मत गणना भएर ट्रम्पले अग्रता हासिल गरेमा नतिजा अप्रत्यासित हुन सक्ने सम्भावनालाई नकार्न सकिदैँन ।

यसबीच पेन्सिलभेनियाको मत गणनामा पनि बाइडेनले नै अग्रता हासिल गरेका छन् । करिब २० लाख हुलाक मतपत्र गणनासँग यहाँको फराकिलो मत अन्तर उल्ट्याउँदै बाइडेनले यो अग्रता हासिल गरेका हुन् । यहाँको पछिल्लो नतिजा नियाल्दा बाइडेनले जित्ने सम्भावना बढेको छ । बाइडेनको जन्म यसै राज्यमा भएकोले पनि उनका लागि यहाँको चुनावले विशेष महत्व राख्छ । यहाँको नतिजा बाइडेनालाई थप उत्साह प्रदान गरिरहेको छ । राष्ट्र्पति ट्र्म्पले चुनावी नतिजा आफ्नो प्रतिकुल गइरहेकोमा आक्रोस ब्यक्त गरिरहेका छन् । आफुले जित हासिल गरिसकेको भएपनि मतगणना जारी रहेको र ती मतहरु धाँधली पुर्वक आइरहेको दावी गरेका छन् । एरिजोना र नेभाडाले नै बाइडेनलाई ह्वाइट हाउस पुर्याउन सक्ने पक्का भएकोले ट्र्म्पको स्थिति राम्रो छैन ।

१५ इलेक्टोरल मत रहेको नर्थ क्यारोलिनामा ट्रम्प अगाडी छन् र यहाँको मत अन्तर पनि धेरै छ । त्यसैले यो राज्य ट्रम्पकै पक्षमा जाने सम्भावना राख्छ । अन्तिम समयमा जर्जियामा बाइडेनको अग्रताले डेमोक्र्याट राष्ट्रपति बन्ने सम्भावनालाई अझ बलियो पारेको छ । जर्जियामा ९९ प्रतिशत मत गणना भइसकेको छ । यदि बाइडेनले जित्ने हो भने ट्रम्पले कुनै पनि हालतमा आवश्यक २७० इलेक्टोरल कलेज भोट हासिल गर्न सक्ने छैनन् ।

दोस्रो कार्यकालका लागि जित हासिल गर्नुलाई आफनो ब्यक्तिगत प्रतिष्ठाको विषय बनाइरहेका ट्र्रम्प मत गणनाको पछिल्लो ट्रेन्डले झन हतास भएको देखिएको छ । उनले डमोक्र्याटिक पार्टी मात्रै होइन, राज्यको चुनाव र मतगणना प्रक्रियालाई लिएर आक्रोस ब्यक्त गरिरहेका छन् । लगातार उत्तेजना फैलाउने खालको टिप्पणी गरिरहेकोले केही अमेरिकी सन्चार माध्यमले नेताहरुको प्रतिक्रियाको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेका छन् ।

ट्र्रम्पले बारम्बार चुनाव आफुले जितिसकेको भएपनि मतगणना भइरहेकको भनिरहेका छन् । ट्रम्प र उनका समर्थक बाइडेनले जितेका सबै राज्यमा पुन मत गणनाका लागि अदालतसम्म पुगेका थिए । तर, उनीहरुको प्रस्ताव अदालतले खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्