युद्ध अपराधको आरोप लागेपछि राष्ट्रपतिद्धारा राजीनामा



प्रिस्टिना । युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ । उहाँमाथि युद्धअपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उहाँले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो ।

हालैमात्र उहाँका विरुद्धमा हेगमा रहेको युद्धअपराध अदालतमा मुद्धा दायर भएको थियो । त्यसपछि उहाँले राजीनामा दिनुभएको हो । सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उहाँ शक्तिमा रहेका बेला युद्धअपराध गरेको आरोप छ ।

आफू अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा उपस्थित हुनुपर्ने भएकोले आफ्नो पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । राजीनामा पत्रमा आफूले कोसोभोको राष्ट्रिय प्रतिष्ठामा आँच आउन नदिनका लागि र अन्तर्राष्ट्रिय रुपमा आफ्नो देशको स्वाभिमान कायम राख्नका लागि आफूले राजीनामा दिएको तर आफूले कुनै गल्ती नगरेको उहाँले सो राजीनामा पत्रमा जनाउनुभएको छ ।

सन् १९९० मा सर्बियासँगको द्धन्द्धका क्रममा उहाँ कोसोभोको विद्रोही समूहको राजनीतिक विभाग प्रमुखका रुपमा काम गर्नुभएको थियो । उहाँको आदेशमा ती विद्रोहीहरुले सर्बियाका नागरिकमाथि हिंसा गरेको र धेरै मानिसको हत्या गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्