टर्कीद्वारा अजरबैजानमा सेना पठाउन सक्ने संकेत



अंकारा, येरवान, बाकु (एजेन्सी)

आर्मिनिया र अजरबैजानबीचको युद्धमा अहिलेसम्म अप्रत्यक्ष संलग्न रहेको टर्की अब खुलेरै अजरबैजानको समर्थनमा देखिएको छ । हालै टर्कीले यदि अजरबैजानका तर्फबाट अनुरोध आएमा आफना सेना पठाउन तयार रहेको बताए । महासक्ती रुसका छिमेकी देश आर्मिनिया र अजरबैजानबीच नागोर्नो काराबाख इलाकामा कब्जाका लागि युद्ध चलिरहेको छ । यदि यस युद्धमा टर्की संलग्न हुने हो भने तेस्रो विश्व युद्धको खतरा उत्पन्न हुन सक्ने अनुमान गरिएको छ ।

टर्कीका उपराष्ट्रपति फौत ओकतायले अजरबैजानमा टर्किस सेना पठाउन संकेत दिएको हो । यदि अजरबैजानका तर्फबाट सेना पठाउन अनुरोध आउँछ भने टर्की आफना सैनिक तथा सैन्य सहयाता दिन नहिच्किचाउने ओकतायले बताए । यद्यपी यस प्रकारको कुनै अनुरोध अजरबैजानका तर्फबाट नआएको उनले बताए । टर्कीले अजरबैजानलाई आफनो पुरा समर्थन दिँदै आर्मिनियाले बाकुको जमीनमाथि कब्जा गरिरहेको आरोप पनि लगाए ।

सीएनएनसँगको कुराकानीमा टर्कीका उपराष्ट्रपति फ्रान्स, रुस र अमेरिकाको नेतृत्व रहेको समुहको आलोचना गर्दै यो समुहले नागोर्नो काराबाख विवाद अन्त्य होस भन्ने नचाहेको आरोप लगाए । उक्त समुहले आर्मिनियालाई राजनितिक तथा सैन्य सहयोग गरिरहेको पनि उनले आरोप लगाए ।

यसबीच आर्मिनियाको कब्जामा रहेका २१ गाँउलाई मुक्त गरेको अजरबैजानले दावी गरेको छ । अहिलेसम्म युद्धमा १ सय ३० इलाका मुक्त गरिसकेको पनि अजरबैजानको दावी छ । आर्मिनियाले उक्त दावीको खन्डन गरेको छ । आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयानले नागोर्नो काराबाख र त्यसको वरपरको इलाकामा चलिरहेको युद्धको राजनितिक समाधान सम्भव नभएको बताए ।

टर्कीको यो घोषणापछि अब फ्रान्स र रुस जस्ता देश पनि यो युद्धमा ओर्लन सक्छ जसले तेस्रो विश्वयुद्धको खतरा बढाएको छ । नागोर्नो काराबाखको युद्धमा हालसम्म टर्की, पाकिस्तान र इजरायलले खुलेरै अजरबैजानको समर्थन गर्दै आइरहेको छ । टर्कीले विगतका बर्षमा अजरबैजानसँग १० संयुक्त सैन्य अभ्यास गरेको थियो । यो युद्धमा टर्कीले खुलेरै हतियार सहयोग गर्दै आइरहेको छ । टर्कीका ड्रोन विमानले आर्मिनिया पक्षलाई ठुलो क्षति पुर्याइरहेको छ । टर्कीले आफना एफ १६ लडाकु विमान पनि अजरबैजानलाई दिएको टर्कीले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्