क्षतिपूर्ति तिरेबापत सुडान आतंककारी सूचीबाट हट्ने



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि सुडानले क्षतिपूर्तिबापत ३३ करोड ५० लाख अमरिकी डलर तिरेको खण्डमा त्यसलाई आंतकवादको बढावा दिने राष्ट्रको सूचीबाट हटाउन सक्ने बताएका छन्। ट्रम्पको उक्त प्रस्तावलाई सकारात्मकरूपमा लिँदै रकम अमेरिका पठाइ सकेको तर अमेरिकाबाट आधिकारिक पत्र प्राप्त भई नसकेको सुडानी प्रधानमन्त्री अब्दल्ला हामदोकले बताएका छन्।

सन् १९९३ देखि नै संयुक्त राज्य अमेरिकाले सुडानलाई आतंककारी मुलुकको सूचीमा राख्दै आएको थियो। त्यतिबेला अन्तर्राष्ट्रिय लडाकू समूह अलकायदाका नाइके ओसामा बिन लादेन त्यहाँ सरकारी अतिथिको हैसियतले बस्ने गर्दथे।

अमेरिकाले माग गरेको क्षतिपूर्ति सन् १९९८ मा अलकायदाले अफ्रिकास्थित आफ्ना दूतावासमा गरेको बम आक्रमणसँग सम्बन्धित रहेको बताइएको छ। तान्जानिया र केन्यास्थित अमेरिकी दूतावासमा गरिएको बम विस्फोटमा २ सय २० बढी मानिसको ज्यान गएको थियो। साथै, अन्य हजारौं संख्यामा सर्वसाधारण घाइते भएका थिए।

ट्रम्पले सुडानबाट प्राप्त उक्त क्षतिपूर्ति रकम ती आक्रमणमा मारिएका पीडित परिवारलाई वितरण गरिने बताएका छन्। ओसामा बिन लादेनकै योजना र निर्देशनमा सन् २००१ को सेप्टेम्बर ११ मा अल कायदाका लडाकूबाट अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरलगायतका अन्य स्थानमा भएको आत्मघाती आतंककारी घटनामा हजारौं अमरिकीको ज्यान गएको थियो। उक्त घटनापछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले अन्तर्राष्ट्रिय गठबन्धन फौजको सहयोगमा विश्वव्यापी आतंकवादविरोधी अभियानको थालनी गरेका थिए।

गत वर्ष विशाल जनप्रदर्शन पश्चात् सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई अपदस्थ गरेयता अमेरिका र सुडानबीचको सम्बन्धमा बिस्तारै सुधार आएको हो। हिंसाग्रस्त अफ्रिकी मुलुक सुुडानमा अल बसिरले ३० वर्षसम्म शासन चलाएका थिए। अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकले अति गरिबीबाट पीडित सुडानलाई अमेरिकाले सो सूचीबाट निकालेको खण्डमा केही हदसम्म राहत मिल्ने विचार प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्