सिनेमाघर खुले, दर्शकको उपस्थिति न्यून



नयाँदिल्ली, (एजेन्सी)
कोभिड–१९ महामारीका कारण सात महिनादेखि बन्द भएका भारतका सिनेमाघर खोलिएका छन्। तर, अझै कोरोना भाइरस संक्रमित थपिँदै गइरहेको भारतमा लकडाउनका कारण नोक्सानीमा परिने डरले निर्माताले नयाँचलचित्र निर्माण गर्ने जमर्को भने गरिनसकेको बीबीसीका पत्रकार क्रुतिका पाथीले बताएकी छन्। मल्टिप्लेक्स चेन इनोक्सका प्रमुख कार्यकारिणी अधिकारी आलोक टन्डनले सिनेमा क्षेत्र कोरोना महामारीबाट निकै नराम्ररी प्रभावित भएको तथा भारतमै सिनेमाघर सबैभन्दा पहिले बन्द गर्ने र खोल्ने पनि आफू रहेको बताएका छन्।
भारतका झन्डै १० हजार सिनेमाघर सरकारले लकडाउन लागू गर्नुअघि नै अर्थात् मार्चमा बन्द गरिएका थिए। तर, हाल कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलिरहे पनि सिनेमा हल खुलाइएका हुन्। बिहीबार भारतका अधिकांश राज्यका सिनेमा घर खोलिएका छन्।
सोही दिन तीन महिनाको तथ्यांकमै सबैभन्दा कम अर्थात् २४ घण्टामा ६ सय ८० को भाइरस संक्रमणबाट ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती सिनेमाघरको करिब १ अर्ब २० करोड अमेरिकी डलर नोक्सान भएको अनुमान गरिएको छ। सम्पूर्ण हलमा पूर्णरूपमा सुरक्षा सतर्कता अपनाइए पनि अपेक्षितरूपमा दर्शको उपस्थिति नरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्