फ्रान्सको राजधानीलगायत नौ शहरमा रात्रिकालीन कफ्र्यु



पेरिस, (एजेन्सी)
कोरोना भाइरस महामारी संक्रमण नियन्त्रण गर्ने उद्देश्यले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले बिहीबार राजधानी पेरिसलगायत अन्य आठवटा शहरमा रात्रिकालीन कफ्र्युको घोषणा गरेका छन्। टेलिभिजनमार्फत अन्तर्वार्ता दिने क्रममा म्याक्रोंले भनेका छन्– ‘आगामी शनिबार बेलुका ९ देखि बिहान ६ बजेसम्म कफ्र्यु लगाइनेछ। यो कफ्र्यु कम्तीमा चार साता जारी रहनेछ।’
साथै, फ्रान्समा जनस्वास्थ्य संकटकालको स्थिति पनि घोषणा गरिएको छ। यसैबीच जर्मनीमा पनि अति जोखिमयुक्त क्षेत्रका बार तथा रेस्टुरेन्टहरू निर्धारित समयभन्दा चँँडै बन्द गर्न पनि सरकारी निर्देशन जारी गरिएको छ।
चान्सलर एन्जेला मर्केलले बुधबार अप्रिल महिनायता ५ हजार जना नयाँ संक्रमित देखिएको जर्मनीमा सुरक्षा सतर्कतासम्बन्धी नियम कडा पारिने घोषणा गरेकी हुन्। बिहीबार जर्मनीमा संक्रमित संख्या बढेर ६ हजार ६ सय ३८ पुगेको छ।
नयाँ नियमानुसार १ लाख आवादी भएको क्षेत्रमा संक्रमितको संख्या ५० नाघेको स्थितिमा त्यहाँका रेस्टुरेन्ट र बार बेलुका ११ बजेभित्रै बन्द गरिनुपर्ने छ। साथै, घरायसी भेटघाट पनि १० व्यक्तिमा सीमित पारिएको छ। कोभिड–१९ को दोस्रो चरणको महामारी नियन्त्रणका लागि युरोपभर नै सरकारले कडा कदम चाल्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्