थाइल्यान्डमा संकटकाल लागू



बैंकक, (एजेन्सी)
थाइ सरकारले बिहीबार राजधानी बैंककमा सरकारविरुद्ध हुँदै आएको विशाल जनप्रदर्शन रोक्न तथा ठूलो संख्यामा अन्य कुनै पनि सार्वजनिक स्थलमा हुने भेलामाथि प्रतिबन्ध लगाउन संकटकाल घोषणा गरेको छ। प्रहरीले सरकारी टेलिभिजनमार्फत उक्त घोषणा प्रसारण गर्ने क्रममा शान्ति सुरक्षाको व्यवस्था गर्न तत्काल उपाय अपनाउनुपर्ने आवश्यकता आइपरेको बताएको छ।
बिहीबार सबेरै प्रहरीले तीनजना प्रमुख प्रदर्शनकारी नेतालगायत अन्य थुप्रै कार्यकर्ता पक्राउ गरेको छ। विद्यार्थीको नतेृत्वमा भइरहेको उक्त विरोध प्रदर्शनको माग प्रधानमन्त्रीको राजीनामा र थाइ नरेशका अधिकार कटौती रहेका छन्।
स्थानीय समयअनुसार बिहीबार बिहान ४ बजेदेखि संकटकाल लागू भएको घोषणा गरिएको छ। प्रहरीले कुल २० जनालाई पक्राउ गरेको स्वीकारे पनि तिनीहरूको परिचय सार्वजनिक गरेको छैन। तर, बीबीसीका अनुसार मानव अधिकारसम्बन्धी वकिल आनोन नाम्पा, विद्यार्थी कार्यकर्ता पारित चिवार्क र ‘पेनगुइन’ उपनामले बढी चिनिने पानुसाया सिथिजिरावात्तानाकुल गिरफ्तारीमा परेका छन्।
व्यापक भाइरल हुन पुगेको लाइभ स्ट्रिम भिडियोमा प्रहरीले पानुसालाई होटलको कोठामा अभियोग पढेर सुनाउँदै गरेको तथा अर्को भिडियोमा उनलाई प्रहरीले कारभित्र चढाउँदै गरेको देखिन्छ। उनले थाइ शाही प्रणालीमा सुधारको मागसहितको १० बुँदे घोषणापत्र बुझाएकी थिइन्। पूर्वसैनिक शासक तथा वर्तमान प्रधानमन्त्री प्रायुथ चान ओचाद्वारा जारी गरिएको सकंटकाल घोषणापत्र टेलिभिजनमार्फत प्रसारित भएको हो।

प्रतिक्रिया दिनुहोस्