नेपालको मिडिया क्षेत्रमा कोभिड-१९ को गम्भीर असर



नेपाल समाचारपत्र,काठमाडौं ।

नेपालमा कोरोनाका कारण आम सञ्चार तथा पत्रकारिता क्षेत्र गम्भीर रुपमा प्रभावित भएको राष्ट्रव्यापी सर्वेक्षणले देखाएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।

सर्वेक्षण प्रतिवेदन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले एक भच्र्युयल समारोहमा विमोचन गर्नुभएको हो । विक्रम सम्बत २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु-याएको देखाएको छ ।

सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारहरुले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरुले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरुले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।

महाव्याधिले सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई उल्लेखनीय प्रभाव पारेको छ । उत्तरदाताले प्रसारण, श्रव्य तथा श्रव्यदृश्य सामग्रीको उत्पादन घटेको प्रतिक्रिया दिएका छन् । छापा माध्यमहरुको पनि प्रकाशन आवृत्ति (फ्रीक्वेन्सी) तथा पृष्ठ दुबै घटेको पाइएको छ । केही प्रकाशनहरु डिजिटल माध्यममा मात्र सीमीत भएका छन् । छापा माध्यममा कार्यरत ५५ प्रतिशत उत्तरदाताले आफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८.४ प्रतिशत (२२७ जना) ले छापा माध्यमको प्रकाशनको समय (फ्रीक्वेन्सी) घटेको उल्लेख गरेका छन् ।

रेडियोमा कार्यरत ५१.८ प्रतिशत (१७६ जना) उत्तरदाता र टेलिभिजनमा कार्यरत ४२.८ प्रतिशत (११६) उत्तरदाताले प्रसारण सामग्रीको उत्पादनको घटेको उल्लेख गरेका छन् । नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीककण्ठ उप्रेतीले सर्वेक्षणमा विपत्सँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको जनाउनुभएको छ ।

पत्रकारहरुलाई तालिमलगायतका क्षमता विकासमा स्रोतसाधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औल्याइएको जनाउँदै अध्यक्ष उप्रेतीले विपतको समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरुको लागि विभिन्न सिफारिससमेत सर्वेक्षण प्रतिवेदनमा गरिएको उल्लेख गर्नुभएको छ । महासचिव लक्ष्मण हुमागाईले सर्वेक्षणमा सघाउने सबै पत्रकार तथा सहयोगी संस्थाहरुप्रति आभार प्रकट गर्दै आम सञ्चार शिक्षा तथा यससम्बन्धी नीति निर्माणमा यस सर्वेक्षणले सघाउने विश्वास व्यक्त गर्नुभएको छ ।

इन्ष्टिच्यूटका कार्यकारी निर्देशक तथा सर्वेक्षण कार्यक्रमका संयोजक लक्ष्मण उप्रेतीले सञ्चालन गर्नुभएको प्रतिवेदन विमोचन समारोहमा बर्नमर्थ विश्वविद्यालयका मिडिया विभागका डीन आइनार थोरसन र डा. चिण्डु श्रीधरणले पनि सर्वेक्षणको महत्वमाथि प्रकाश पार्नुभएको थियो । प्राध्यापक रामकृष्ण रेग्मीले कोरोना भाइरसको महामारीका बेला मिडिया र पत्रकारले भोगेको कठिनाइका सम्बन्धमा अरु कसैले नगरेको, तर गर्नैपर्ने यस अनुसन्धानले मिडिया अध्ययन–अध्यापनमा बलियो स्रोतसामग्रीको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्