५ हजार ७६६ प्रहरी फेससिल्डसहित ड्युटीमा



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका प्रहरी सबैले संक्रमण जोखिमलाई कम गर्न फेससिल्ड लगाएर ड्युटी शुरु गरेका छन् । फिल्डमा नियमित ड्युटीमा खटिने प्रहरीले फेससिल्ड लगाएर ड्युटी शुरु गरेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत् ५ हजार ७ सय ६६ प्रहरीलाई फेससिल्ड उपलब्ध गराएर फिल्डमा ड्युटी गर्दा अनिवार्यरुपमा लगाउने व्यबस्था मिलाइएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत् सबै प्रहरीलाई फेससिल्ड वितरण गरेको हो । सबै प्रहरीमा एकरुपता ल्याउन फेससिल्डमा प्रहरीको लोगो र ‘बागमती प्रदेश प्रहरी’ लेखिएको छ । ड्युटीमा खटिने प्रहरी धेरै जनासँग सम्पर्कमा आउनुपर्ने भएकाले प्रहरीलाई संक्रमण हुनबाट जोगाउन र प्रहरीबाट अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भन्ने उद्धेश्यले बागमती प्रदेशअन्तर्गत् कार्यरत् सबै प्रहरीलाई फेससिल्ड उपलब्ध गराइएको हो ।

विभिन्न प्रहरी एकाईंमा कार्यरत् प्रहरीमा कोरोना संक्रमण देखिएकाले संक्रमण थप फैलन नदिन बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले हरेक प्रहरीलाई फेससिल्ड उपलब्ध गराएर ड्युटीमा बस्दा मास्क, फेससिल्ड लगाउन निर्देशन दिनुभएको छ ।

प्रहरी कार्यालयमा हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न पक्राउ परेका व्यक्तिका साथै संक्रमण जोखिममा कार्यरत् प्रहरीलाई अनिवार्य पीसीआर टेष्ट गर्ने व्यबस्था मिलाइएको छ भने प्रहरीलाई समूहमा विभाजन गरेर बस्ने, खाने र ड्युटी गर्ने व्यबस्था मिलाइएको छ ।

सबै प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने, हरेक प्रहरी कार्यालयमा क्वारेन्टाइन बनाउने, अत्याबश्यक कामले कार्यालयबाहिर जाने प्रहरीलाई क्वारेन्टाइनमा बस्नेलगायत सुरक्षा सावधानी अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्