सामान छुटाउने नाममा ५० लाख भन्दाबढी ठगी



न्युज अफ नेपाल,काठमाडौं ।

समाजिक सन्जालको प्रयोगगरी आफु बेलायतको लन्डनस्थित बुपाक्याम्वाला अस्पतालको चिकित्सक भएको र नेपाल आएर तपाइसंग बिवाह गर्छु भन्दै नेपाली युवतीलाई ठगी गर्दै आएका अफ्रिकन मुलुक अंगोलाका सिल्भा एन्टिनियो दा कोस्टालाई प्रहरीले पक्राउ गरेको छ ।

ती अफ्रिकन नागरिकले बिभिन्न नेपाली महिलालाई मायाजालमा पारी विवाह समेत गर्ने भन्दै हिराको औठी, सुनको सिक्री र २ लाख ३० हजार पाउन्ड स्ट्रलिङ पठाएको भन्दै भन्सार छुटाउने नाममा ४८ लाख ६४ हजार ४ सय २० रुपिया ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

सिल्भाले राजधानीका केही महिलालाई आफ्नो मायाजालमा पारी ठगी गरेको पत्ता लागेपछि महाशाखाको टोलीले थप २० लाख भन्सार छुटाउनकालागि पैसा चाहिएको भन्दै ठगी गर्न लागेको बेला होटल सोल्टीबाट पक्राउ गरेको थियो ।
सो ठगको समुहले शुरुमा ती नाम नखुलाइएकी महिलालाई २० लाख लिएर बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएकोमा त्यहां सुरक्षा थ्रेट देखेपछि होटल सोल्टीमा ती महिलालाई २० लाख लिएर आउन आग्रह गरेका थिए ।

ती महिला पैसा सहित होटल सोल्टीमा पुगेपछि अपराध महाशाखाको टोलीले सिल्भालाई पक्राउ गरेर उ बस्दै आएको होटल ठमेलमा छापा मारेर प्रहरीले बिभिन्न सामान बरामद गरेको छ । पक्राउ परेका सिल्भा गत फागुनमा नेपाल आएका थिए ।

उनले यस अघि पनि एक नेपाली युवतीसंग त्यसैगरी ३७ हजार ठगी गरेका थिए । उनले नेपालमा बसेर नक्कली नोटको कारोवार समेत गर्ने गरेको अनुसन्धानको पत्ता लागेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

प्रहरीले सिल्भाको साथबाट ३ लाख १५ हजार नेपाली, ९ सय अमेरिकी डलर, एटिएम कार्ड, कालो कागजको बन्डल, केमिकलहरु समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्