सवारीका एक हजार ८५० झल्लर हटाइए



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सवारीदुर्घटना न्यूनीकरणका लागि सवारीसाधनमा राखिएका झल्लरहरु हटाएको छ ।

सजावटका लागि सवारीसाधनको अगाडि सिसाछेऊमा जडान गरिएका विभिन्न झल्लरका कारण चालकले अगाडिको दृष्य राम्ररी नदेख्ने हुँदा दुर्घटनाको सम्भावना भएकोले सवारीसाधनमा जडान गरिएका झल्लरहरु हटाइएका हुन् ।

सवारीसाधनमा राखिएका झल्लरहरु हटाउने अभियान बागमती प्रदेश प्रहरी कार्यालयले असार २ गते शुरु गरेको हो । अभियान शुरु भएदेखि आइतबारसम्म १ हजार ८ सय ५० वटा झल्लर हटाइएको छ ।

१ हजार ५ सय २ वटा सवारीसाधनमा राखिएका झल्लर ड्युटीमा खटिएका ट्राफिक प्रहरीले हटाएका हुन् । विभिन्न प्रकारका सवारीसाधन ट्रक, ट्रिपर, बसलगायतमा राखिएका झल्लर हटाइएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले दुर्घटना न्यूनीकरणको लागि वार्षिक कार्ययोजना तयार गरी विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्