घर–घर गएर बिजुलीको मिटर रिडिङ गर्ने कार्यको अन्त्य हुँदै



नेपाल समाचारपत्र, काठमाडौं
घर घरमा गएर विद्युत्को मिटर रिडिङ गर्ने कार्य अन्त्य हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकसँग रहेका सिंगल फेज मिटरलाई हटएर स्मार्ट मिटर जडान गर्न शुरू गरेसँगै मिटर रिडिङको कार्य अन्त्य हुने भएको हो ।
‘स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट नै मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ । मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ । कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ । स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुन्छ,’ प्राधिकरणको भनाइ छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन । विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट नै मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ । मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९ को वडा कार्यालयमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुरूआत गर्नुभएको छ । देशभर करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ ।

‘स्मार्ट मिटरको जडानमात्रै होइन, संघीय राजधानीलगायत मुलुकका मुख्य शहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी शहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं’, स्मार्ट मिटर प्रतिस्थापन कार्यक्रममा मन्त्री पुनले भन्नुभयो–‘प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगमार्फत इतिहासमै पहिलोपटक उपभोक्ता महशुल घटाएका छौं भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने एक नम्बरको संस्था बनाउन सफल भएका छौं, इमान्दार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टि भएको छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत घोषणा गरेको ५ वर्षभित्र स्मार्ट ग्रिड र मिटरमिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सयदेखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताउनुभयो ।

‘स्मार्ट मिटरमा हरेक घण्टाको महशुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महशुल तोक्न सकिनेछ, साथै अव चाँडै वर्षायाममा बढी विद्युत उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महशुल कायम गर्न सकिन्छ भने हिउँदयामको महशुल पनि फरक तोक्न सकिनेछ ।’ उहाँले भन्नुभयो– ‘स्मार्ट मिटरमा पोष्ट पेड र प्रि पेड दुवै फङसन हुने हुँदा ग्राहकको इच्छाअनुसार पोष्ट पेड र प्रिपेड गर्न सकिन्छ, ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न सक्नेछन् ।’

प्राधिकरणले पहिलो चरणमा ८ हजार २ सय २२ टाइम अफ डे (टीओडी) मिटरलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा १ लाख २५ हजार थ्रि फेज होल करेन्ट मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्ता करिब १८ हजार मीटर जडान भइसकेका छन् । ६० हजार मिटर जडान भइरहेको छ । नयाँ थ्रि फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ । स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरीलाई हुने गरी जडान गरिने छ ।

यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपियाँ रहेको छ । यसमा एसियाली विकास बैकले सहुलितपूर्ण ऋण दिएको छ । काठमाडौं उपत्यकामा हाल रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्