पर्वत अस्पतालमा नि:शुल्क डायलासिस सेवा शुरु



दुर्गाप्रसाद शर्मा, पर्वत । 

पर्वत अस्पवतालमा मृगौलाको निशुल्क डायलासिस सेवा शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा शुरु भएको सेवाको आइबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गर्नुभयो ।

सेवा शुरु भए संगै मृगौलाका बिरामीले डायलासिस गराउन पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पर्वत अस्पतालमा दैनिक ९ जनाले तत्काल डायलासिस सेवा लिन सक्ने गरि सेवा शुरु गरिएको छ । डायलसिस सेवा सुरु गर्न ४ वटा मेसिन जडान गरिएको छ । एक महिना सम्म पहिलो सिफ्टमा ९ जनालाई सेवा दिन सक्ने र जनशक्ति थप भएमा १८ जनालाई सेवा दिन सकिने पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । डायलसिस सेन्टरमा २ जना मेडिकल अफिसर, ६ स्टाफ नर्स, र १ जना प्राविधिक छन् । पर्वतमा अस्पतालमा डायलसिस मेसिन जडान गर्न गण्डकी सरकारले १ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो भने प्रतिनिधीसभाका सदस्य पदम गिरीले स्थानिय पुर्वाधार बिकास कार्यक्रम मार्फत जेनेरेटर खरिद गर्नका लागि १५ लाख उपलब्ध गराउनुभएको थियो ।

मुख्यमन्त्री गुरुङ्गले हेमो डायलासिस सेवाको उद्घाटन गर्दै प्रदेश सरकारले स्वास्थ्य सेवालाई आधारभूत तहको जनताको पहुँचमा पुर्‍याउने गरि काम गरिरहेको छ भन्नुभयो । उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको सेवालाई प्रभाबकारी बनाउन जनशक्ति ब्यबस्थपन र भौतिक पुर्वाधार बिकासका लागि काम गरिरहेको छ भन्नुभयो । ‘ जिल्ला अस्पतालहरुको स्टान्र्डड कायम गरेर सबै प्रदेशलाई उदहारण देखाउँछौ।’ उहाँले भन्नुभयो ‘गण्डकी प्रदेश सरकार यसरी नै जिल्ला अस्पतालहरुमा उपकरण र सेवा सुविधा विस्तार गर्दै जाने योजनामा छ । प्रदेश मातहतका अस्पतालमा अब औषधि छैन, डाक्टर छैन, उपकरण बिग्रेको छ, भोलि आउनोस् भन्ने अवस्था हुनुहुँदैन भन्नेमा गण्डकी सरकार सचेत छ ।’

मुख्यमन्त्री गुरुङ्गले नाफा कमाउने उद्देश्यले खोलिएका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संस्थाल संकटको बेला काम नलाग्ने गरेको तितो पोख्नुभयो । कोरोनाको महामारीका बेला निजी अस्पताल र शिक्षण अस्पतालहरुको भूमिका प्रति मुख्यमन्त्रीले असन्तुष्टि पोख्नुभयो । अब गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल, संक्रामक रोग अस्पताल र ट्रमा अस्पताल बनाउने गरि अघि बढेको जानकारी पनि गराउनुभयो । कोरोनाले संकट संगै स्वास्थ्य क्षेत्रमा सुधारको अवसर पनि दिएकोले सरकारी अस्पतालको सेवा सुधार गर्न राज्यको आँखा खोलिदिएको छ भन्नुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वत जिल्लामा स्वास्थ्य सेवा आधारभूत जनताको पहुँचमा पु¥याउन गण्डकी प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले आफुँले पनि डायलासिस सेवा सुरु गर्न स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम मार्फत सहयोग गरेको बताउनुभयो ।

गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेस सरकारले जनता सरकारी अस्पतालमा आउँदा निराश भएर फर्कन नपर्ने गरि सेवा र पुर्वाधार बिकासको काम गरिरहेको छ भन्नुभयो । ‘आम नागरिकले सेवा लिने भएकाले सरकारी अस्पतालमा उत्कृष्ट सेवा र स्वास्थ्यकर्मीको बोलीबचन समेत मिठास हुनुपर्छ।’ उहाँले भन्नुभयो ।

पर्वत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटा र सञ्चालन स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्