लक्जेमबर्गमा एकैपटक ३५ नेपालीलाई कोरोना संक्रमण भएको समाचार भ्रामक : एनआएनए



शेरबहादुर परियार, पोल्याण्ड ।

लक्जेमबर्गमा ३५ जना नेपालीलाई सामुहिक कोरोना संक्रमण भएको र युरोप भरी सन्त्रास फैलिएको समाचार भ्रामक भएको पाइएको छ ।

केही दिन अघि विभिन्न अनलाइन सञ्चार माध्यमहरुले एनआरएनए आइसिसी अन्तर्गतको स्वास्थ्य समितिको हवाला दिदै लक्जेमबर्गमा एक पारिवारिक जमघट (वैवाहिक वर्षगाँठ) मा सहभागी ३५ जना नेपालीहरु एकैपटक संक्रमित भएका र त्यसले युरोपमा रहेका नेपाली समुदायमा सन्त्रास फैलिएको भन्ने आसयको समाचारमा कुनै सत्यता नभएको एनआरएनए लक्जेमबर्गका प्रवक्ता बालहरि राईले बताएका छन् ।

विश्वमा कोरोनाको समस्या देखिएपछि उक्त समाचारमा आएजस्तो लक्जेमबर्गमा नेपाली समुदायमा ठूलो जमघट हुने वैवाहिक वर्षगाँठ वा अन्य कुनै कार्यक्रम भएको छैन। कोभिड-१९ को बिषम परिस्थिति र यसको असरको हेक्का यहाँ रहेका नेपाली समुदायलाई छ। तसर्थ समचार प्रकाशन गर्दा यहाँ रहेका नेपालीका आधिकारिक संस्थाका प्रतिनिधिलाई सत्यतथ्य बुझेर मात्र प्रकाशन र प्रशारण गर्न अनुरोध गर्दछु ‘ प्रवक्ता राई ।

समाचारले उल्टै सन्त्रास फैलायो : आइसिसी सदस्य

लक्जेमबर्गका लागि एनआरएनए आइसिसी सदस्य बालकृष्ण सापकोटा लक्जेमबर्गमा ३५ जना नेपालीलाई एकैपटक कोरोनाबाट संक्रमित भएको र त्यसले सन्त्रास फैलिएको नभइ उल्टै समाचारले चाहिँ सन्त्रास फैलाएको हो भन्छन् ।

‘सत्यता नभएको उक्त समाचारका कारणले लक्जेमबर्गमा रहेका हामी नेपाली समुदाय, नेपालमा रहेका हाम्रा परिवार तथा युरोपमा रहेका इस्टमित्र सबैलाई मानसिक तनाव र सन्त्रास दिएको छ ।यहाँ र नेपालको समय मिल्दैन आधा रातमा फोन र म्यासेज आएको र समाचारमा कुनै सत्यता नभएकोले चिन्ता नलिन अनुरोध गर्दा गर्दै हैरान छौं’ सापकोटा दुखित हुदै भन्छन् । ‘उक्त समाचार कसरि र कहाँबाट आयो त्यसको सत्यतथ्य पत्ता लगाउन सरोकारवाला व्यक्ति र संस्थालाई अनुरोध गर्दे अन्य युरोपेली मुलुकमा झैं यहाँ रहेका केही नेपालीमा पनि कोरोना संक्रमण देखिएको हो तर समाचारमा आएजस्तो बिल्कुल होइनू भन्छन्

यथार्थ के हो त ?

केही नेपालीहरु गर्मीको विदामा पार्कमा मनोरञ्जनको लागि सदा बर्ष झैं गएको तर सोहि कार्यक्रमका कारणले कोरोना संक्रमण भएको होइन । केहीलाई शायद पहिले देखि नै संक्रमण थियो होला तर त्यसको जानकारी थिएन। पछि जाँच गर्ने क्रममा संक्रमण देखिएको र सो संख्या क्रमशः बढ्दै लगभग २० जना नेपालीमा देखिएको हो तर अहिले अधिकांश संक्रमणबाट मुक्त भइ काममा समेत फर्किसकेका छन् ।हामीलाई जानकारी भएसम्म लक्जेमबर्गमा अहिले ५ जना मात्र संक्रमित रहेका र सबैको स्वास्थ्य अबस्था पनि सामन्य रहेको प्रवक्ता राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्