पनौती नगरपालिकाद्वारा सेनालाई विपद् उद्दारका सामाग्री प्रदान



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली सेनाको विष्णु दल गणलाई पनौती नगरपालिकाले विपद उद्दारका सामाग्री उपलब्ध गराएको छ ।

यस अघि धुलिखेल नगरपालिकाले गणलाई विपद उद्धारका सामाग्री उपलब्ध गराएको थियो । विपदबाट हुने क्षति न्यूनिकरण गर्न, तत्काल उद्धार गर्ने कार्यमा सहयोग पुर्‍याउने उदेश्यले स्थानीय सरकारले विष्णु दल गण धुलिखेललाई उक्त सामाग्री उपलब्ध गराएका हुन् ।

विहिबार धुलिखेल स्थित जिल्ला विपद ब्यवस्थापन समिति मार्फत विष्णु दल गण धुलिखेललाई विपद्का ११ थरी सामाग्री नगर प्रमुख भिम न्यौपानेले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्कालाई हस्तान्तरण गर्नु भएको थियो । नगरपालिकाले रेस्क्यु रोप २ सय ५० मिटर, क्याराविनर स्क्रु १० वटा, हेल्मेट २३ वटा, चस्मा १० वटा, पञ्जा ३० वटा, लाईफ ज्याकेट ६ वटा, उड कटर १ वटा, ट्युव ३ वटा, फस्ट एड ब्याग ४ वटा, हेड ल्याम्प २० वटा र टर्च लाईट २० वटा विष्णु दल गणको पनौती सुरक्षा बेशका लागि विपद पुर्व तयारीका लागि सामाग्री उपलब्ध गराएको हो । उपलब्ध गराएका सामाग्रीको मुल्य झण्डै ५ लाख रुपैया रहेको छ ।

सामाग्री बुझेसँगै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विपद पुर्व तयारीका लागि उपलब्ध गराएका सामाग्रीहरुले नागरिकहरुको सुरक्षामा सहयोग पुग्ने बताउनु भयो । स्थानीय सरकारको समन्वयले नागरिकहरुको सुरक्षामा सहजता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताउनु भयो । नगर प्रमुख भिम न्यौपानेले विपद पुर्व तयारीका सामाग्री नेपाली सेनालाई उपलब्ध गराउँदा विपदको समयमा नागरिकहरुको सुरक्षामा प्रभावकारी सेवा उपलब्ध हुने बताउनु भयो । विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुवास खड्काले विपद पुर्व तयारीका सामाग्रीले नागरिकहरुको सुरक्षा तथा विपदमा नेपाली सेना खटिँदा थप सहजता उपलब्ध भएको बताउनु भयो ।

समाग्री हस्तान्तरण कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि चापागाई, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई खतिवडा, विष्णु दल गण धुलिखेलका गणपति सुबास खड्का, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, शशस्त्र प्रहरी प्रमुख एसपी महेश केसी, राष्ट्रिय अनुसन्धानका प्रमुख डिएस्पी सरोज निरौला लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्