जात्रा र विद्यालय सञ्चालन नगर्न जिल्ला प्रशासन पाल्पाको निर्देशन



न्युज अफ नेपाल, पाल्पा ।

कोभिड–१९ को संक्रमण बढ्ने जोखिमका कारण पाल्पा जिल्लामा कुनै पनि जात्रा,पर्व र विद्यालय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह र निर्देशन गरेको छ ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले एक सूचनामा जारी गरि स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने सर्तमा केही सेवा र कार्यहरु सञ्चालन गर्न खुला एंव सहजिकरण गरिएकोमा न्यूनतम सामाजिक दुरी कायम नगर्ने , विना मास्क र स्यानिटाइजर घर बाहिर हिड्डुल गर्ने अनावश्यक भिडभाड गर्ने, सेवा प्रदायक निकाय वा संस्थाले पनि स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्ने गराउनेतर्फ वेवास्त गर्ने, विद्यालयहरुमा कक्षा सञ्चालन गर्ने जस्ता गतिविधिहरु बढ्दै गएकाले. यस्ता गतिविधि तुरुन्त रोक्न भनिएको छ । त्यसै नियमित पूजा वाहेका भिडभाड हुने गरी जात्रा महोत्सव नगर्न पनि भनिएको छ ।

यस अघि पनि प्रसासनले सूचना जारी गरेको थियो तर सूचना वेवास्ता गरी मास्क नलगाई घरबाहिर हिड्ने एक सय भन्दा बढी कारवाहीमा परिसकेका छन् ।

कोभिड –१९ का कारण विगत लामो समयदेखि जिल्लामा सञ्चालन हुँदै आएका भगवती जात्रा, रोपाईँ जात्रा, चुईकी फिराई, अमर नारायण, गणेश, भिमसेन लगायतका कुनै पनि जात्रा महोत्सवहरु यस वर्ष नहुने भएका हुन् । यस अघि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, तानसेन नगर सरकार, विश्व हिन्दू महासंघ, विभिन्न गुठीसंघ संस्थाहरु र सरोकारवालाको उपस्थितिमा भएको बैठकले कोरोनाको जोखिमका कारण जात्राहरु नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्