हाचेकालीलाई एनएलजी कलाश्री सिर्जना पुरस्कार



न्युज अफ नेपाल, काठमाडौँ ।

कवि तथा समालोचक सुरेश हाचेकालीलाई नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार–२०७७’ प्रदान गरेको छ । प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार-२०७७’ कवि तथा समालोचक हाचेकालीले प्राप्त गरेका हुन् ।

साहित्यिक आन्दोलन चक्रव्यूह सञ्चेतनाका अभियन्ता हाचेकालीका सीमान्त आमाहरू (कविता सङ्ग्र्रह, २०६६), चक्रव्यूह नगरमा अभिमन्यू (लामो कविता, २०७१), पृथ्वी सवाई (कविता सङ्ग्रह, २०७४) र ऐकिक चक्रव्यूह समालोचना (२०७४) लगायतका कृति प्रकाशित छन् ।

कलाश्री साहित्य वार्षिक त्रिकामा प्रकाशित हाचेकालीको ‘इगोट्रोनको सैद्धान्तिक चस्माबाट केही समकालीन नेपाली कविताहरू’ शीर्षकको समालोचनात्मक लेखलाई उक्त पुरस्कार प्रदान गरिएको हो । सरुभक्तको अहमकेन्द्रित मानवतावादको सिद्धान्तलाई सैद्धान्तिक औजारको रुपमा प्रयोग गरेर हाचेकालीले उक्त लेखमा १८ जना समकालीन कविहरूको कविता विष्लेषण गरेका छन् ।

गीत लेखन र अनुवादमा समेत सक्रिय हाचेकाली त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजीका उपप्राध्यापक हुन् । उनले सूत्रपरक प्राध्यापकीय, जीवनीपरक, प्रभावपरक र विवरणात्मक शैलीको समालोचना पद्धतिको विपक्षमा सिद्धान्तपरक समालोचना लेखनको अभियानलाई करिब १८ वर्ष अघिदेखि निरन्तरता दिँदै आएका छन् । हाचेकाली समालोचनालाई सृजनशील पठन मान्दछन् ।

हालै राजधानीमा आयोजित समारोहमा कवि तथा पूर्व मुख्यसचिव विमल कोइराला, कवि, गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइराला, एनएलजी इन्स्योरेन्सका सिइओ सुनिलबल्लभ पन्त र नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशीले संयुक्त रुपमा हाचेकालीलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्