घुस नलिने प्रहरी पुरस्कृत



न्युज अफ नेपाल, हेटौंडा ।

ड्युटीमा बसेका प्रहरीलाई विभिन्न प्रलोभन देखाएर घुस दिन खोज्ने व्यक्तिहरुलाई घुसवापत् रकमसहित पक्राउ गरी कारबाही गरिनुका साथै ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारबाट भएका विभिन्न निर्णय कार्यान्वयनका लागि नियमित ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर घुसवापत् रकम दिनेहरुलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ जना गरी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

विशेषतः सवारीचालकले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारीपास दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटनापछि कारबाहीबाट उम्कन र नदीजन्य सामग्री अवैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि ड्युटीमा रहेका प्रहरीलाई ५ सय रुपियाँदेखि ५ हजार रुपियाँसम्म दिएर प्रलोभनमा पार्न खोजेका थिए ।

विभिन्न मिति र समयमा पक्राउ परेका व्यक्तिहरुलाई कसुरअनुसार सावर्जनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकताविरुद्ध कसुरमा मुद्धा चलाइएको, संक्रमण रोग ऐन–२०२० अनुसार आबश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । कतिपयलाई ट्राफिक नियम उलंघन गरेको कसुरमा जरिवाना गराइएको छ ।

आर्थिक प्रलोभनका लागि प्रहरीलाई दिइएको रकम आइन्दा यस्तो कार्यमा संलग्न नहुने शर्तमा कागज गरेर सम्बन्धित व्यक्तिलाई भरपाई गरी बुझाइएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

आर्थिक प्रलोभनमा नपरी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने प्रहरीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रदेश प्रहरी कार्यालयका साथै सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नगद पुरस्कार प्रदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसअघि एक प्रनानिसहित ४ जनालाई पुरस्कार प्रदान गरिसकेको छ भने सोमबार प्रदेश प्रहरी कार्यालयले थप ३ प्रहरीलाई उनीहरुले नियमानुसार पाउने नगद पुरस्कार प्रदान गरेको छ । पुरस्कार पाउनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवान दुई र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत् १ प्रहरी जवान छन् ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत् कार्यालयमा कार्यरत् प्रहरीबाट नागरिककेन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवाप्रवाह गराउने उद्धेश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट विशेष कार्ययोजनासहित मातहत कार्यालयलाई सोहीअनुरुप कार्यसम्पादन गर्न निर्देशन भएसँगै प्रहरीबाट सम्पादन हुने कार्यमा पारदर्शिता र इमान्दारिता देखिन थालेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्