सिमा सुरक्षाका लागि दार्चुलामा सशस्त्र प्रहरी बलको गणसहित ४ बिओपी स्थापना गरिदै



किरन धामी, दार्चुला ।

भारत र चिन संगको सिमा रक्षाका लागी दार्चुला जिल्लामा सशस्त्र प्रहरी बल नेपालको एक गण र चार वटा बिओपी स्थापना हुने भएका छन् ।

गत असार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले सुदूरपश्चिमका दुई जिल्ला सहित नेपालका अन्य ६ जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापना गर्ने निर्णय गरे अनुसार जिल्लामा गण स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले पाएको विभिन्न जिम्मेबारी मध्ये सिमा सुरक्षा, सिमा अपराध न्युनिकरण, ओसारपसार, मावन बेचविखन, तस्करी लगायतका गतिविधिलाई न्युनिकरण गर्न जिल्लामा गण स्थापना हुन लागेको उहाले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको दार्चुला र कैलाली जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापनाका लागी विभागबाट स्वीकृती प्राप्त भएको गुल्मपति बिष्टले जानकारी दिनुभयो ।

दार्चुला जिल्ला सदरमुकाम खलंगामा हाल रहेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म ब्याँस गाउँपालिका–१ छाङ्गरु जाने तथा सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर स्थापना हुने उहाको भनाई छ । भारत संगको सिमामा तत्काल चार वटा बिओपी स्थापना हुने समेत गुल्मपति बिष्टले जानकारी दिनुभयो । गण स्थापना संगै जिल्लाको महाकाली नगरपालिका–९ दत्तु र ब्याँस गाउँपालिका–१ तिंकर, मल्लो कौवा र वडा नम्बर ४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने उहाले बताउनुभयो । यस्तै मालिकार्जुन गाउँपालिकाको जोलजिवी र तिंकरमा बिओपी भनव निर्माणका लागी १÷१ करोड बजेट विनियोजन भएको गुल्मपति बिष्टले जानकारी दिनुभयो ।

जिल्लामा यसअघि भारत संग सिमा जोडिएका लाली, जोलजिवी, दुम्लिङ्ग र छाङ्गरुमा सशस्त्र प्रहरी बलको ४ वटा बिओपी स्थापना भइसकेका छन् । भारत संग दार्चुला जिल्लाको १ सय २५ किलोमिटर सिमा जोडिएको छ, भने चिन संग २० किलोमिटर सिमा जोडिएको छ । जिल्लामा गण स्थापना भए संग सशस्त्र प्रहरी उपरिक्षकको नेतृत्वमा ५ जना सशस्त्र प्रहरी नायव उपरिक्षक, १४ जना सशस्त्र प्रहरी निरिक्षक र सशस्त्र प्रहरी कर्मचारी गरी ६ सय २१ जना बस्ने गुल्मपति बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्