बेलायतले फ्रान्स र जर्मनीसँग कोरोना खोपको ९ करोड डोज किन्ने



लन्डन, (एजेन्सी)

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरस खोपको मानवमा पहिलो परीक्षमा सफलता हासिल गरिसकेको छ । अब बेलायत सरकारले दुई थप प्रयोगात्मक खोपमा लाखौं डलर लगानी गर्ने फैसला गरेको छ । सरकारले दुई प्रकारको खोप ९ करोड डोज खरिद गर्ने जनाएको छ ।

ती खोपहरु फ्रन्टलाइन हेल्थ वर्कर्स तथा हेरचाह गर्ने कर्मचारीलाई दिइनेछ । यसअघि सरकारले अक्सफोर्डको खोप १० करोड डोज किन्ने सम्झौता गरिसकेको छ । सरकारले नागरिकसँग कोविड १९ को खोप परीक्षणमा हिस्सा लिन पनि अपिल गरिरहेको छ । अक्टोबरसम्ममा देशका करिब ५ लाख नागरिकले रजिस्टर गर्ने सरकारले अपेक्षा गरेको छ ।

बेलायत सरकारले जर्मन कम्पनी बायोनेट र फर्मास्युटिकल कम्पनी पीफिजरको एमआरएनए खोपको ३ करोड डोज किन्ने सहमतिमा हस्ताक्षर गरेको ब्यापार सचिव आलोक शर्माले जानकारी दिएको छ । उक्त खोपको हालैको पहिलो चरणको परीक्षणले सफल नतिजा दिएको थियो । यसले प्रतिरोधक क्षमता उत्पन्न हुने र यो सुरक्षित पनि भएको बताइएको छ । यद्यपी धेरै डोज दिँदा केही साइड इफेक्ट्स देखिएको छ ।

त्यसैगरी बेलायतले फ्रान्सको भेल्नवा कम्पनीसँग पनि ६ करोड डोज खोपका लागि सम्झौता गरेको छ । यदि खोप प्रभावकारी र सफल भएमा सरकारले ४ करोड डोज थप खोप खरिद गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्