मिलनको भिडियोमा दयाहाङ र आँचल जोडी



कोरोना भाइरस संक्रमणबाट हुने कोभिड–१९ को जोखिम रोक्न लगाइएको लकडाउनका कारण फिल्म छायांकनदेखि प्रदर्शनसम्मका सबै काम ठप्प छन्। कोरोनाको जोखिम कहिले हट्छ र लकडाउनको अन्त्य कहिले हुन्छ भन्न सकिने स्थिति छैन।

तर, लकडाउन खुकुलो भएसँगै फिल्मको छायांकन अगाडि नबढे पनि गीतका म्युजिक भिडियोको छायांकन भने धमाधम हुन थालेको छ। यससँगै गीत–संगीत क्षेत्रमा सक्रिय कलाकार तथा प्राविधिकहरू जुर्मुराउन थालेका छन्।

म्युजिक भिडियोका छायांकन हुन थालेपछि फिल्ममा चलेका कलाकार म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन्। पल शाह, पुष्प खड्का, दुर्गेश थापा, स्वस्तिमा खड्का, केकी अधिकारी, दयाहाङ राईजस्ता कलाकारलाई लकडाउनको समयमा पनि म्युजिक भिडियोले व्यस्त बनाउन थालेको छ।

अभिनेता दयाहाङ राई, केहीअघि विवाह बन्धनमा बाँधिएकी नायिका आँचल शर्मालगायतले पनि म्युजिक भिडियो छायांकन गरेका छन्। दयाहाङ र आँचलले गत शुक्रबार मिलन चाम्सको निर्देशनमा एक म्युजिक भिडियोको छायांकन गरेका छन्। आँचलको यो लकडाउनपछि मात्र नभई बिहेपछिकै पहिलो भिडियो हो। आँचल गत फागुनमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन्।

राजेशपायल राईको स्वर, निर्मला राई ‘परिवेश’ को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको गीतको म्युजिक भिडियो राजधानी आसपासका विभिन्न स्थानमा छायांकन गरिएको छ। फिल्म शैलीले खिचिएको म्युजिक भिडियोमा निर्देशक चाम्सले दयाहाङ राई र आँचल शर्मालाई जोडी बनाएका छन्। दयाहाङ र आँचलको यो पहिलो सहकार्य हो।

लामो समयपछिको पहिलो काम भएकाले उत्साहित देखिएकी आँचलले दयाहाङसँग काम गर्न सहज भएको बताइन्। आफँले हेरेको पहिलो नेपाली फिल्म लुट रहेको र आफँलाई मन पर्ने कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको आँचलले बताइन्। दयाहाङले पनि लामो समयपछि काम गर्दा पुनर्ताजगी महसुस गरेको बताए।

भिडियोमा दयाहाङ र आँचल विवाहित जोडीका रूपमा प्रस्तुत भएका छन्। यसमा दयाहाङलाई आर्मी अफिसर (क्याप्टेन) को भँमिकामा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी गराए। भिडियो सुदीप बरालले खिचेका हुन्।

प्रतिक्रिया दिनुहोस्