व्यंग्य वाण हान्दै, दुर्गेश फेरि बिच्च बिच्चमा



गीतका शब्दलाई लिएर कहिले चर्चा त कहिले विवादमा तानिँदै आएका गायक तथा मोडल दुर्गेश थापाले आफ्नो सुपरडुपर हिट गीत बिच्च बिच्चमाको तेस्रो संस्करण बिच्च बिच्चमा–३ बेसार सार्वजनिक गरेका छन्।
यो गीत र यसको म्युजिक भिडियोअघि प्रमोसनका लागि सारी लगाएको अवस्थामा देखिएका दुर्गेश यसैका कारण विवादमा परे पनि सार्वजनिक गीतको भिडियोमा भने फरक ढंगले जमेका छन्। भिडियोको केही अंशमा सारी लगाएको अवस्थामा देखिए पनि उनी यसको भिडियोमा सानदार मात्र देखिएका छैनन्, पूरै भिडियो आकर्षक बनेको छ। गीत मार्मिक सँगै चोटिलो पनि बनेको छ। गीतमा देशमा भएका राजनीतिदेखि सामाजिक र जातीय विकृति एवं विसंगतिविरुद्ध चोटिलो प्रहार गरिएको छ। केही समयदेखि भएका समसामयिक घटना–परिघटनालाई विषय बनाइएको गीतमा व्यंग्य नै व्यग्यको वाण हानिएको छ।

वसन्त थापाको संगीत र गीत रचना भएको गीतको शुरूमै बिरामीको मृत्युपछि मात्र कोरोना पुष्टि भएको रिपोर्ट आउने गरेको सन्दर्भमा दह्रो व्यंग्य गर्दै मार्मिक ढंगले भनिएको छः
कोरोनाले लग्यो बरै पल्लाघरे हरिलाई
मरेपछि रिपोर्ट आयो क्यार्नी बरी लै
ओई बेसार बाध्यताको दबाइ के छ र
ओई बेसार विवशताको दबाइ के छ र?
डन आयो डन गायक दुर्गेश वाइड बडी प्लेन र ३३ केजी सुनकाण्डका बारेमा मीठो ढंगले गाउँदै प्रश्न गर्छन्
वाइड बडी नि पच्यो यहाँ ३३ किलो पचाइयो
भित्रभित्रै अपराधीलाई किन बचाइयो
ओई बेसार भ्रष्टाचारको दबाइ के छ र
बेसार राष्ट्रघातको दबाइ के छ र?
गाईजात्रा नजिकिँदै गएको समयमा सार्वजनिक भएको गीतमा भारतको मिचाहा प्रवृत्तिमाथि दुर्गेश साथीहरूका साथ फेरि स्वर हाल्छन्
कैले नाका लगाइदिन्छ कैले मिच्छ सीमाना
नजिकैको छिमेकी नि छैन इमान
ओई बेसार विस्तारवादको दबाइ के छ र
ओई बेसार मिचाहाको दबाइ के छ र?
गीतमा नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको विपक्षमा उभिन पुगेकी नेतृलाई पनि छोडिएको छैन, भनिएको छ
भारतको छोरी रैछिन् नेपालकी बुहारी
आफ्नै घरको विरुद्धमा खेल्छे जुहारी
ओई बेसार राष्ट्रघातको दबाइ के छ र
ओई बेसार देशद्रोहीको दबाइ के छ र?
कोरोना संक्रमितका लागि बनाइएको क्वारेन्टाइनमा समेत भएका बलात्कारका घटनामाथि दुर्गेशले गाएका छन्
क्वारेन्टाइनमा पीपासुले बलात्कार गरेछन्
कोरोनाले मार्नुभन्दा पहिल्यै मरेछन्
ओई बेसार अपराधीको दबाइ के छ र
ओई बेसार बलात्कारको दबाइ के छ र?
जातभातकै कारण भएको प्रेमप्रेमीको हत्याप्रति पनि उत्तिकै चोटिलो प्रहार गर्दै गीतमा भनिएको छ
रुकुमतिर प्रेम म¥यो किन म¥यो थाहा होला
सामन्तको युद्ध लड्ने कामरेड काँ होला
ओई बेसार जातिवादको दबाइ के छ र
ओई बेसार भेदभावको दबाइ के छ र?
विश्वले पत्ता लगाउन नसकेको कोरोनाको उपचारलाई लिएर देशको प्रधानमन्त्रीजस्तो व्यक्तिले हल्का रूपमा लिँदै व्यक्त गरेको भनाइमाथि गीतमा उडाइएको छ
हाच्छ्यँँ गरी उडाइदिनु कोरोनाको भाइरस
संसद् भवन कमेडियन स्कुल लाइराछ
ओई बेसार जनता ढाँट्ने दबाइ के छ र?
ओई नेताज्यँको बुझ इशारा।
गीतमा एरेन्जमेन्ट कृष्ण बिके ‘भान्जा’ र गीतार सञ्जीव बराइलीको रहेको छ। गीतको म्युजिक भिडियोमा कोरियोग्राफी र निर्देशन काजिश श्रेष्ठको रहेको छ भने छायांकन अर्जुन तिवारी र सम्पादन मिलन विश्वकर्माको रहेको छ। भिडियोमा दुर्गेशका साथमा चिरञ्जीवी देवकोटा, काजिश श्रेष्ठ, जीवन सहानी क्षत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का देखिएका छन्। सार्वजनिक भएको ३ दिनमै युट्युबको ट्रेन्डिङमा ३ नम्बरमा पुग्न सफल गीतको म्युजिक भिडियो १० लाख बढीले हेरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्