बेलायती अधिराजकुमारी बेट्रिसको विवाह सम्पन्न



लन्डन (एजेन्सी)

बेलायतकी अधिराजकुमारी बेट्रिसले राजमहलमा आफनो साथीहरुबीच सामान्य समारोहमा विवाह गरेकी छन् । यो विवाह अत्यन्तै गोप्य तरिकाबाट भएको र यसमा महारानी एलिजाबेथ पनि सहभागी भएको बताइएको छ ।

महारानी एलिजाबेथकी नातिनी अधिराजकुमारी बेट्रिस राजकुमार एन्ड्रयु तथा डचेस अफ योर्क साराहकी छोरी हुन् । शुक्रबार भएको उक्त विवाहलाई बकिंगम प्यालेसले शनिवार मात्र पुष्टि गरेको हो । यो शाही विवाह सरकारको सबै नियम अनुसार सम्पन्न गराइएको हो ।

विगत दुई बर्षमा बेलायत राजघरानामा भएको यो चौथो विवाह हो । यसअघि अधिराजकुमारी युजिनी, ड्युक एन्ड डचेस अफ ससेक्स र लेडी ग्रेबियला विन्डसरको विवाह भएको थियो । यी सबै विवाह विन्डसर क्यासल स्थित सेन्ट जर्ज च्यापलमा भएको थियो ।

अधिराजकुमारी बेट्रिस लामो समयदेखि विवाह गर्ने योजनामा थिइन् तर महामारीका कारण हुन पाइरहेको थिएन । यसअघि यसैबर्ष मार्च र मेमा यो विवाह कार्यक्रम स्थगित भएको थियो ।

बेट्रिस र मोज्जी लामो समय देखिसँगै थिए । यी दुईबीचको इन्गेजमेन्ट गत बर्ष सेप्टेम्बरमा भएको थियो । इन्गेजमेन्टपछि दुबैले आफुहरु नयाँ जीवन शुरु गर्न उत्साहित भएको बताएका थिए ।

अधिराजकुमारी बेट्रिसले विवाह गरेका मेपेली मोज्जी सम्बन्ध विच्छेद गरेर बसेका ब्यक्ती हुन् । उनको पहिलो विवाहबाट दुई बर्षका एक छोरा छन् । इटालीका मोज्जी रियल इस्टेट कम्पनी बान्डा प्रोपर्टीका निर्देशक हुन् । उनी २४ बर्षको उमेरमा नै रियल इस्टेट ब्यवसायमा प्रवेश गरेका थिए । मोज्जी र बेट्रिस पहिलो पटक सन् २०१९ मा सार्वजनिक रुपमा सँगै देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्