अझै भेटिएनन् मेलम्चीमा बेपत्ता चालक



न्युज अफ नेपाल, काठमाडौं ।
सुरुङ परीक्षणको क्रममा मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुटी बेपत्ता भएका सवारी चालक अझैसम्म पनि फेला पर्न सकेको छैन । गएको असार ३० गते सुरुङको गेट निरीक्षणको क्रममा एक्कासी फुट्दा त्यसबाट आएको बाढीले सवारी चालक राधाकृष्ण थापा सहित चार जनालाई बगाएका थिए ।

जसमा आयोजनाका साइट इन्जिनियर शेखर खनाल र सर्भेक्षण सहयोगी पेम्बा दोर्जे तामाङको उद्धार भएको थियो । घाइते अबस्थामा उद्धार भएका उनीहरुको काठमाडौंमा उपचार भईरहेको छ भने निर्माण व्यवसायीका इन्जिनियर सतिस गाइत र सवारी चालक थापा भने बेपत्ता थिए ।

बेपत्ता इन्जिनियर गाइतको शव भने बेपत्ता भएको दुई दिनपछि साउन १ गते खोज तथा उद्धारको टोलीले बाहुने पाटी नजिकै फेला परेको थियो । तर बेपत्ता सवारी चालक थापालाई भने अझै सम्म पनि फेला पार्न सकिरहेको छैन । चालक थापालाई खोज्न सशस्त्र प्रहरी बलको गोताखोर, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा खोजी रहेको छ ।

प्रहरी कार्यालय मेलम्चीले खोजी बेपत्ता भएको भोली पल्टदैखि नै खोजी कार्य जारी रहेको जनाएको छ । प्रहरी कार्यालयका एक अधिकारीले शनिबारबेलुकीदेखि निरन्तर वर्षा भएको र आइतबार पनि वर्षातकै कारण खोलाको बहाब बढेकोले खोजी कार्य स्थगित गरेको बताए ।

खोज तथा उद्धार टोलीले मेलम्ची, इन्द्रावती, सुनकोशी तथा नदी किनारमा व्यापक खोजिरहेको छ । आयोजनाका सहप्रवक्ता राजेन्द्र पन्तले मौसमले साथ दिएसम्म बेपत्ताको खोजी कार्य जारी राख्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्