कोरोना भाइरस संक्रमण नियन्त्रण अझै सम्भव : डब्ल्यूएचओ



जनेभा, (एजेन्सी)
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख टेड्रोस एडनाम गब्रेयसले कोरोना भाइरसलाई नियन्त्रण गर्न अहिले पनि सम्भव भएको बताएका छन् । इटाली, स्पेन, दक्षिण कोरिया र मुम्बईको धारावीको उदाहरण दिँदै ती स्थानमा स्थिति अत्यन्तै खराब रहेको तर तीव्रतापूर्वक कारबाही गरेपछि नियन्त्रण भएको उनले बताए ।

जहाँ प्रतिबन्ध हटेको छ त्यहाँ संक्रमण बढिरहेको डब्ल्यूएचओले जनाएको छ । सामुदायिक सक्रियता, टेस्टिङ, ट्रेसिङ, आइसोलेसन र सबै रोगको उपचारमा केन्द्रित गरी कोरोनाको चेन तोड्नुले संक्रमण अन्त्य गर्न सम्भव हुने डब्ल्यँएचओ प्रमुखले बताए । हरेक देशको केही बाध्यता छ, जहाँ प्रतिबन्ध हटेको छ, त्यहाँ संक्रमणको केसमा वृद्धि भइरहेको छ । यस्तोमा सबै एकजुट हुने र नियन्त्रणमा तीव्रता देखाए भने फाइदा हुन सक्ने उनले बताए ।

यसबीच डब्ल्यूएचओका आपत्कालीन परियोजनाका प्रमुख डाक्टर माइक रेयानले वर्तमान परिस्थितिमा कारोना भाइरसलाई पूर्णरुपमा समाप्त पार्न कठिन भइरहेको प्रतिक्रिया दिएका छन् । यद्यपि भिड हुने इलाकामा संक्रमण रोकेर कोरोनाको दोस्रो लहरको सबैभन्दा खराब चरण र फेरि लकडाउनजस्तो स्थितिबाट बचाउन सकिनेछ ।

विश्वका १ सय ९६ देशमा २०१९ डिसेम्बरदेखि अहिलेसम्म कोरोनाबाट १ करोड २८ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । अहिलेसम्म ५ लाख ६७ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । भारतमा संक्रमित संख्या ८ लाख ५० हजार नाघेको छ भने २२ हजार ६ सय ७ को मृत्यु भइसकेको छ ।

संक्रमित संख्यामा दोस्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म १८ लाख ४० हजार र सबैभन्दा बढी अमेरिकामा ३३ लाख ५५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्