कोरोनाभाइरसबाट विश्वभरी एक करोड २० लाख सङ्क्रमित



मेरील्याण्ड । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ । चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे छ ।

कोरोनाका कारण सवैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङख्या सवैभन्दा धेरै रहेको छ । अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ३२ हजार ३०९ जनाको मृत्यु भएको छ । त्यसैगरी ३० लाख ५५ हजार १४४ जना सङ्क्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो । दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको छ । ब्राजिलमा १७ लाख १३ हजार १६० जना सङ्क्रमित भएका छन् भने ६७ हजार ९६४ जनाको मृत्यु भएको छ । बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस र पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्