टोइलेट रोल केकको हंगामा



हेलेन्सिन्की, (एजेन्सी)

सिर्जनात्मक सोच भएको फिनल्यान्डको हेलेन्सिन्कीस्थित एउटा बेकरीले कोरोना भाइरसको कारण सेलाउँदै गइरहेको आफ्नो व्यापारमा ऊर्जा थप्न टोइलेट रोलजस्तो देखिने केक बनाउन थालेको छ ।

गत महिना रोन्तोस्रोभा बेकरीका कर्मचारीहरू सम्पूर्ण अर्डर क्यान्सिल भएपछि निकै दुःखित र विचलित हुन पुगेका थिए ।

तर अचानक टोइलेट रोल आकारका केकको भने धमाधम अर्डर आउन थालेको छ । फलफूल मिसाएर बनाइएको सो केक हेर्दा जो कोही पनि झुकिनै सक्छन् ।

बेकर युलियाना तिमोफिभाले पहिलो पटक बनाइएका पाँचवटा केक एक घण्टाभित्रै बिक्री भएको र केही क्षणपछि नै सामाजिक सन्जालमा ती केक हिट भएको रोयटर्सलाई बताएकी छन् ।

अहिले बेकरीमा त्यसको अर्डर यति धेरै आउन थालेको छ कि मालिक साना लाम्पिनेनले आफ्नो नौ सदस्यीय टोलीमा अरू दुई जना कामदार थपेकी छन् । अब कमसेकम केही महिनाका लागि भए पनि यस अनौठो केकको कारण आफ्ना कामदारहरू आर्थिकरूपमा सुरक्षित भएकोमा उनी निकै खुसी छिन् ।

प्रतिक्रिया दिनुहोस्