सात वर्षअघि नै कोरोना भाइरस वुहान प्रयोगशाला पुगेको दाबी



वासिङ्टन, (एजेन्सी)
कोविड १९ सँग करिब समान एक प्रकारको भाइरसको नमुना आजभन्दा ७ वर्षअघि वुहान इन्स्टिच्युट अफ वायरोलोजीमा पठाइएको सन्डे टाइम्सको एक समाचारमा उल्लेख गरिएको छ । यस नयाँ खुलासाले अहिलेको यस विश्व महामारीको उद्गमका विषयमा उठेको प्रश्न निरुत्तर बनेको छ ।

वैज्ञानिकहरूले सन् २०१३ मा दक्षिणपश्चिम चीनस्थित एक पूर्व तामा खानीस्थित चमेरोको वासस्थान सफा गर्ने क्रममा ६ पुरुष कडा निमोनियाबाट संक्रमित भएका थिए । त्यसपछि त्यहाँका चमेरोबाट संकलित ती भाइरसको फ्रोजन नमुना पठाइएको थियो ।

संक्रमितमध्ये ३ जनाको मृत्यु चमेरोबाट सरेको कोरोना भाइरसकै कारण भएको हुनुपर्ने आपत्कालीन विभागका सुपरभाइजरसँग सम्बन्धित एक स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै सन्डे टाइम्सले जनाएको छ ।

युनान प्रान्तस्थित त्यही खानीमा सार्सजस्तो चमरोबाट शुरू भएको कोरोना भाइरसका बारेमा वुहान इन्स्टिच्युट अफ वायरोलोजीमा सी झेंगलीले अनुसन्धान गरेकी थिइन् ।

सन् २०२० को एक अखबारमा चमेरो गुफामको अन्वेषण गर्न पुगेपछि ब्याट वुमन उपनाम पाएकी सीले सन् २०१३ मा युनानमा प्राप्त आरएटीजी–१३ नामक भाइरससँग कोरोना भाइरस ९६ दशमलव २ प्रतिशत समान रहेको बताएकी छन् ।

हाल त्यतिकै छोडिएको उक्त खानीमा फेला परेको आरएटीजी–१३ र कोराना भाइरस करिब समान भएको सन्डे टाइम्सले जनाएको छ ।

उक्त नमुनाले अहिले दशकौंको भिन्नतालाई प्रतिनिधित्व गर्छ र यो आफैमा ठूलो दूरी भएको वैज्ञानिकहरूले बताएका छन् । वुहान ल्याबले यस सम्बन्धमा उसको प्रश्नको जवाफ नदिएको सन्डे टाइम्सले जनाएको छ ।

गत मेमा वुहान इन्स्टिच्युट अफ वायरोलोजीका निर्देशकले प्रयोगशालामा आरएटीजी–१३ भाइरसको कुनै जीवित नमुना नभएकाले चुहावट हुन सक्ने कुरा असम्भव भएको बताएका थिए ।

वुहानबाट शुरू भएको यस विश्व महामारीको स्रोत उक्त प्रयोगशाला भएको कुनै प्रमाण छैन । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेमा आफूसँग त्यसको पर्याप्त प्रमाण भएको बताएका थिए, जुन अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदनसँगै बाझिन्छ ।

प्रतिक्रिया दिनुहोस्