पुटिन २०३६ सम्म रुसी राष्ट्रपति बन्ने !



मस्को, (एजेन्सी)

झन्डै ७८ प्रतिशत रुसी मतदाताले संविधान संशोधनको पक्षमा मतदान गरेका छन् । यसबाट अब राष्ट्रपति भ्लादिमिर पुटिन आगामी सन् २०३६ सम्म सत्तामा रहन सक्ने स्थिति सिर्जना भएको चुनाव अधिकारीहरूले बिहीबार बताएका छन् ।

सम्पूर्ण मत गणना भइसकेपछि संशोधनको पक्षमा ७७ दशमल ९ र विपक्षमा २१ दशमलव ३ प्रतशत मत खसेको परिणाम प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

अहिले पुटिनको कार्यकाल आगामी सन् २०२४ सम्म रहेको छ । दुईवटा ६ वर्ष लामो कार्यकालमा पुग्ने यसले मार्ग प्रशस्त गरिदिएपछि अब पुटिन २०३६ सम्म सत्तामा रहने बलियो सम्भावना बनेको छ ।

विपक्षी राजनीतिक समँहहरूले भने यो उनको आजीवन राष्ट्रपति बन्ने चाल हो भन्दै यस कदमको आलोचना गरेका छन् । सोभियत संघ कालीन तानाशाह जोसेफ स्टलिनपछि उनी आधुनिक रुसी इतिहासमा सबैभन्दा लामो समय सत्तामा बस्ने नेता भइसकेका छन् ।

सातदिने चुनावको स्वतन्त्र अनुगमन भएको थिएन । साथै केही दिनअघि नै पसलहरूमा नयाँ संविधान पुस्तिका बिक्रीका लागि राखिएका थिए ।

सरकारी अधिकारीहरूले भने कोरेना भाइरस संक्रमण हुने सन्त्रासका कारण चुनावको राम्ररी स्थलगत अनुगमन हुन नसकेको तथ्य स्विकारेका छन् । पुटिनको चुनावी नारा ‘हाम्रो देश, हाम्रो संविधान, हाम्रो निर्णय’ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्