शरीरमा माइक्रोचिप लगाउन बाध्य पार्न नसक्ने विधेयक पारित



क्यालिफोर्निया, (एजेन्सी)

अमेरिकाको मिसिगन राज्यको संसद्ले कम्पनीले आफ्ना कर्मचारीको शरीरमा माइक्रोचिप लगाउन बाध्य पार्न नसक्ने एक विधेयक पारित गरेको छ ।

सन् २०१७ मा कम्पनीले एक नीति लागँ गर्दै कर्मचारीको शरीरमा आरएफआईडी माइक्रोचिप लगाउन भनिएको थियो ।

उक्त चिपको सहयोगबाट कर्मचारी आएपछि कार्यालयको प्रवेशद्वार आफै खुल्ने, कम्प्युटर खुल्ने र क्यान्टिनको खाजा लिएमा त्यसको भुक्तानी पनि आफै हुन्छ । विशेष गरी यो चिपको माध्यमबाट कम्पनीले कर्मचारीको गतिविधिमा निगरानी गर्न सकिने बताइएको छ ।

यद्यपि कम्पनीको यो नीति स्वेच्छामा आधारित थियो । तर कम्पनीका कर्मचारीमा यो चिप लगाउनका लागि बाध्य पार्न सक्ने त्रास थियो । यो विधेयक पारित भएपछि कर्मचारीलाई बाध्य पार्नु कम्पनीका लािग गैरकानुनी हुनेछ ।

यद्यपि विधेयक पारित भएपछि कानुन बन्न अमेरिकी सिनेटबाट पनि पारित हुनुपर्नेछ । यसको तयारी भइसकेको छ । क्यालिफोर्निया, अरकान्सस, मिसौरीसहित १० राज्यमा यो विधेयक पहिल्यै पारित भइसकेको छ ।

यो नयाँ प्रविधिको प्रयोगले कर्मचारीको व्यक्तिगत गोप्यता भंग हुने सम्भावना बढ्ने मिसिगनको संसद्को प्रतिनिधि ब्रोना कलले आशंका व्यक्त गरेका छन् ।

तर यो नयाँ प्रविधिको प्रयोग गर्ने कम्पनी एम ३२ का सीईओ टेड वेस्टबीका अनुसार यस चिपमा कर्मचारीको विजेनेस कार्ड, मेडिकल इन्फोरमेसन र बैंकको जानकारी भण्डार गर्न सकिनेछ । यसलाई सार्वजनिक यातायात, एटीएम कार्ड र पासपोर्टका रूपमा प्रयोग गर्न सकिनेछ । यसले तपाईंको कार्ड, पासपोर्टजस्ता अत्यावश्यक वस्तुहरू हराउने सम्भावना पनि रहँदैन ।

चामलको दाना जत्रो यो चिपको मँल्य करिब ४० डलर पर्छ । यसलाई हातमा शल्यक्रियाको माध्यमबाट जडान गरिन्छ । यो लगाएपछि हातको इसाराले ढोका खोल्ने, कम्प्युटर तथा अन्य डिजिटल मेसिनहरू सञ्चालन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्