महानगरका वडामा राहत माग्नेको सङ्ख्या बढ्दै



काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका वडा कार्यालयले मजदूर एवं विपन्न वर्गलाई अत्यावश्यक खाद्यान्न सामग्री वितरण गर्न थालेपछि धेरै मानिसले खान पाइएन भन्दै नाम टिपाउन थालेका छन् । नयाँबानेश्वर क्षेत्रस्थित वडा नं १० का अध्यक्ष रामकुमार केसी श्रमिक वर्ग ३०० जतिको नाम सङ्कलन होला भन्ने अनुमान गरिएकामा चार गुणा बढीले माग गरेको बताउनुहुन्छ । “स्नातक, स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीसमेत हामी मागेर खानुपर्ने त होइनौँ, तर अहिले खाद्यान्न छैन भन्दै नाम टिपाएर राहत लिन वडा कार्यालय आउने गरेका छन्, कतिलाई आफ्ना घरबेटीको नामसमेत थाहा नभएको पाइयो”, उहाँले भन्नुभयो ।

अन्य वडामा बस्नेले समेत राहत लिएर गएको, एकै परिवारका दुई जनाभन्दा बढी पनि राहत लिन आएको पनि पछि पत्ता लगाएको कार्यालयले जनाएको छ । वडामा महानगरपालिकाबाट दुईपटक गरी रु आठ लाख राहत, स्यानिटाइजर, साबुनपानीलगायतका लागि बजेट आएको थियो । गौशाला क्षेत्रस्थित वडा नं ९ ले ४५० जना मजदूर वर्गलाई राहत बाँडिसकेको अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले सुनाउनुभयो । त्यस्तै ५०० लाई शनिबार बाँड्ने वडाको तयारी छ । मारवाडी सेवा समितिले वडाको रोहबरमा १०० मजदूरलाई राहत दिएको छ । लैनचौर क्षेत्रस्थित वडा नं २६ ले राहत वितरणका लाग एक हजार ५२० श्रमिक परिवारको लगत सङ्कलन गरी आजदेखि बाँड्न शुरु गरेको अध्यक्ष ख्यामराज तिवारीले बताउनुभयो ।

राहत वितरण गर्दा कम्तीमा पनि तीन फिटको शारीरिक दूरी कायम गरी एक पटकमा पाँच सात जनालाई मात्र राहत दिने गरिएको छ । सरकारले मजदूर वर्गलाई राहत दिन स्थानीय तहलाई निर्देशन दिएको थियो । महानगरपालिकाले मजदूरलाई तीन वर्गमा बाँडेर राहत वितरण गर्ने निर्णय गरेको थियो । परिवारमा एक जना हुनेलाई चार किलो चामल, एक किलो दाल, दुईदेखि चार जना हुनेलाई १२ किलो चामल, दुई किलो दाल, पाँचभन्दा माथि हुनेलाई १६ किलो चामल र दुई किलो दाल दिने मापदण्ड बनाएको थियो ।

यसैगरी नुन भने परिवार सङ्ख्या जति भए पनि एक किलो दिने महानगरपालिकाको नीति छ । यो नीति ३२ वटै वडामा लागू भएको छ । कुनै संस्थाले राहत दिन चाहेमा स्थानीय तहका वडाको एकद्वार प्रणालीबाट गर्ने निर्णय सरकारले गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनको ११ औँ दिन आइपुग्दा मजदूर, श्रमिकलगायत दैनिक ज्याला गरी खाने विपन्न वर्गका नागरिक समस्या परेका छन् । पैसा हुनेले किनेर खान पनि सहज रुपमा अत्यावश्यक खाद्यान्न, ग्याँस लगायत सामग्री पाउन नसकिएको गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्