कोरोना त्रास : झापामा ७० हजार मानिसको स्वास्थ्य जाँच



उत्तम नेपाल, भद्रपुर ।

केहीदिन यताबाट झापाका ७ स्थानमा राखिएका हेल्थ डेक्सबाट विहीबार साँझसम्म ७० हजार १ सय ५० जना नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । विहीबार मात्र ९ हजार ७ सय ६८ जनाको स्वास्थ्य परिक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राइले जानकारी दिनुभयो ।

५ दिनको अवधिमा यो सङ्ख्या पुगेको उहाँको भनाइ छ । झापाका काँकडभिट्टा,भद्रपुरमेचीपुल ,चन्द्रगढी विमानस्थल,केचना, घेराबारी,कुमरखोद, गौरीगञ्जका नाकाबाट इनफ्रारेड थर्मोमिटरबाट चेकजाँच गरिरहेका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि झापामा तीब्ररुपमा क्वारेनटाइन र आइसोलेसन वाड निर्माण तथा व्यवस्थापन भइरहेको छ । झापाका १५ वटै स्थानीय तहले पालिका भित्र भवन खोज्ने कार्य तिब्ररुपमा गरिरहेका छन् । विहीबार सम्म भद्रपुर र मेचीनगरपालिकाले क्वारेनटाइन र आइसोलेसन वाडको पूर्व तयारी गरेको छ ।

भद्रपुरले भद्रपुर १० स्थित कलवलगुढी प्रशिक्षण केन्द्र परिसरभित्र ३२ वटा क्वारेनटाइन वेडको व्यवस्थापन गरिसकेको छ । त्यहाको व्यवस्थापनका लागि नेपाली सेनालाइ जिम्मा दिइएको छ । त्यसैगरी मेचीनगरपालिकाले माइती नेपालको भवनमा २२ र प्राथमिक स्वास्थ्य कार्यालयमा ४० वटा क्वारेनटाइन वेड व्यस्थापन गरेको कोरोना भाइरस सहायता कक्षका सचिव जीवन चौँलागाईले बताउँनुभयो ।

त्यसैगरी मेची अञ्चल अस्पताल भद्रपुरमा ३ वटा जनरल र २ आइसियूसहितको आइसोलेसन कक्ष तयारी भइसकेको छ ।त्यस्तै वि एण्ड सी अस्पताल विर्तामोडमा ५ वटा आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको छ । यता मेचीनगरको धुलाबारी स्वास्थ चौकीमा पनि ४ वटा आइसोलेसन कक्षको तयारी भइरहेको छ । क्वारेनटाइनमा आवश्यक पर्ने आधारभूत सामग्री रेडक्रसले उपलब्ध गराइसकेको छ ।

भद्रपुरमा रहेको खानेपानी संस्थान र खानेपानी डिभिजन सञ्चालनमा भएपनि ती कार्यालयले कुनै चासो नदेखाएपछि चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पानी व्यवस्थापनमा चासो देखाएको छ । सेवाग्राहीको बढीभिडभाड हुनेसरकारी कार्यालयमा हात धुनेपानीको व्यवस्था गरिसकेको समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्