कोरोनाका लागि प्रदेश–१ मा एकीकृत कार्ययोजना तयार



सरोज यादव, विराटनगर।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तथा संक्रमण देखापरिहाले उपचारको प्रबन्ध गर्न प्रदेश–१ सरकारले एकीकृत कार्ययोजना तयार पारेको छ । आज प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सरकारले कार्ययोजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले २३ बुँदे कार्ययोजनामा एकीकृत कार्ययोजनामा सही सूचना सम्प्रेषणदेखि संक्रमितहरुको गोपनीयता राख्नेसम्मका योजना रहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले कोरोना भाइसरलाई भिसा टिकट नचाइने भएकाले जुनसुकै बेला संक्रमण हुने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थित कार्ययोजना तयार पारेको जानकारी दिनुभयो ।

कार्ययोजनामा व्यक्तिगत सरसफाईबारे सचेतना फैलाउने, अन्तर्राष्ट्रिय र प्रदेश नाकाहरु र विमानस्थलहरूमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, शंकास्पद व्यक्तिलाई त्यस्तो डेस्कबाट क्वारेन्टाइन वा आइसोलेसनसम्म पु¥याउने प्रबन्ध पनि गरिएको छ । यस्तै प्रदेशका विभिन्न अस्पतालमा आइसोलेसन बेडको स्थापना गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले नेपालमा कोरोनाको संक्रमण नदेखिएको र नेपालसँगको भारतीय सीमा नाका आसपासमा पनि कोरोना नदेखिएकाले ढुक्क हुने अवस्था रहेको दाबी गर्नुभयो ।

स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । यी सबै काम सम्पन्न गर्न मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशन समिति पनि गठन गरिने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्