मानित विश्वविद्यालय खोल्न प्रधानमन्त्रीलाई चिठ्ठी



डा. मञ्जु मिश्र
संस्थापक प्रिन्सिपल
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन
सम्माननीय प्रधानमन्त्रीज्यू 
विषय ः आमसञ्चार विश्वविद्यालय नेपाल
(मानित विश्वविद्यालय)
महोदय,
देशको सर्वाङ्गीण विकासमा तथा आम जनतालाई सबल बनाउने महान् कार्यमा गुणस्तरीय आमसञ्चार तथा पत्रकारिता क्षेत्रले कति महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने तथ्य विश्वका विकसित मुलुकका इतिहासले पुष्टि गरिसकेको छ। यसै क्रममा नेपालको नयाँ राजनीतिक वातावरणले सबै क्षेत्रमा नयाँ, साहसिक र दीर्घकालीन महत्वका कामहरूका लागि ढोका खोलिदिएको छ र आमजनता त्यस्ता कामले मूर्त रूप लिएको देख्न लालायित छन्।
आमसञ्चार र पत्रकारिताका क्षेत्रमा समयको मागअनुसार दक्ष जनशक्तिको खाँचोलाई दृष्टिगत गरी यसै विषयमा मात्र समर्पित रही २०५७ सालदेखि निजी क्षेत्रबाट कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन सफलतापूर्वक सञ्चालन भइरहेको अवगत नै छ। एक एकल महिलाको परिश्रम र समर्पणबाट सफलतापूर्वक सञ्चालन हुँदै आएको आमसञ्चार र पत्रकारिता विषयका विभिन्न विधामा स्नातक र स्नातकोत्तर तहको अध्यापन गरिने यस कलेजबाट हालसम्म ५ सय जना विद्यार्थीहरू दीक्षित भइसकेका छन्।
आमसञ्चार तथा पत्रकारिता क्षेत्रको बढ्दो व्यापकतालाई ध्यानमा राख्दा नेपालमा निजी क्षेत्रबाट एक अलग अस्तित्वको गैरनाफामुखी आमसञ्चार तथा पत्रकारितासम्बन्धी विषयगत विश्वविद्यालय स्थापना हुनु अत्यावश्यक भइसकेको छ।
यसका अतिरिक्त नेपालका विद्यार्थीलाई विदेशमा गई आफ्नो आत्मविश्वास, अनुभव तथा ज्ञानको दायरा फराकिलो बनाउने अवसर प्रदान गर्न यस कलेजले विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयहरूमा समेत छात्रवृत्तिमा विद्यार्थीहरू, प्राध्यापक तथा कर्मचारीहरूलाई ७० जनाभन्दा बढी अध्ययन गर्न र काममा पठाइसकेको छ।
त्यसरी विदेशमा पढ्न गएका विद्यार्थीले यस कलेजले दिएको क्षमता र आत्मविश्वासका कारण विदेशमा स्वर्णपदकसमेत प्राप्त गर्न सफल भएका छन्। विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग रहेको यस कलेजको अत्यन्त सौहाद्र्र र घनिष्ठ द्विपक्षीय प्राज्ञिक सम्बन्धका आधारमा प्राप्त छात्रवृत्तिबाट १३ जना विद्यार्थी बंगलादेश र विभिन्न अफ्रिकी मुलुकहरूमा काममा र सभा सेमिनारमा भाग लिन गई लाभान्वित भएका छन्। यसका साथै यस कलेजले  प्राप्त गर्दै गएको ख्यातिका कारण हालसम्म ५ जनाले विद्यावारीधिका लागि शोधकार्य गरिरहेका छन्।
यस कलेजले अफ्रिका महादेशसँग प्राज्ञिक सम्बन्ध विस्तार गरेको बारे पनि जानकारी गराउन पाउँदा हामी हर्षित छौं। यसै सम्बन्धको क्रममा आमसञ्चार र पत्रकारिता विषयअन्तर्गत पर्ने सिनेमा विधामा ठोस कार्य गरिँदै आएको छ। विगत सात वर्षदेखि प्रत्येक वर्ष काठमाडौंमा यस कलेजको सक्रियतामा आयोजना गर्ने गरिएको अफ्रिकी फिल्म फेस्टिबलले नेपाल र अफ्रिकी जनताबीच चिनारी र सम्बन्ध अघि बढाउन निकै योगदान दिइरहेको छ।
नेपाल र अफ्रिकी मुलुकहरूबीच प्राज्ञिक एवम् जनस्तरमा कुनै ठोस सम्बन्धका गतिविधिहरूको प्रचलन नरहेको अवस्थामा यस कलेजको पहलमा हुने गरेको यस्ता प्रयासको ऐतिहासिक महत्व रहेको महशुस भएको छ। नेपालले आमसञ्चार क्षेत्रमा अपनाएको उदारवादको नीतिलाई उपयोग गर्दै यस कलेजले आमसञ्चार र पत्रकारिता शिक्षणको व्यवहारिक पक्षलाई अघि बढाउन नेपालमै पहिलो पटक सीजेएमसी एफएमसमेत सञ्चालन गरेको छ। यसले नेपालमा शैक्षिक प्रयोजनले स्थापित पहिलो एफएम बन्ने सौभाग्य प्राप्त गरेको छ।
आजभन्दा १९ वर्षअघि तत्कालीन सोभियत संघबाट आमसञ्चार र पत्रकारिता विषयमै विद्यावारिधि गरी स्वदेश फर्केपछि यसै क्षेत्रमा पूर्णतया समर्पित रही क्रियाशील रहँदै आएको कारणले यो प्रस्तावित विश्वविद्यालयको स्थापना, सञ्चालन र यसलाई अघि बढाउने मार्ग चित्रबारे म आफू र मेरा सहयोगी समूह स्पष्ट रहेको पनि निवेदन गर्दछु। मौजुदा विश्वविद्यालयको सम्बन्धनअन्तर्गत रहेर मात्र कलेज सञ्चालन गर्दा समयको माग र आमसञ्चारको प्रकृतिअनुसार प्राज्ञिक गतिविधिलाई लक्ष्यअनुरूप अघि बढाउन कठिनाइ हुने गरेको हामीले अनुभव गरेका छौं।
आमसञ्चार तथा पत्रकारिता क्षेत्रको बढ्दो व्यापकतालाई ध्यानमा राख्दा नेपालमा निजी क्षेत्रबाट एक अलग अस्तित्वको गैरनाफामुखी आमसञ्चार तथा पत्रकारितासम्बन्धी विषयगत विश्वविद्यालय स्थापना हुनु अत्यावश्यक भइसकेकोले यस विश्वविद्यालयको प्रस्ताव शिक्षा मन्त्रालयमा २०६१ सालमैै प्रस्तुत गरिएको हो। उक्त प्रस्तावप्रति शिक्षा मन्त्रालयलगायत विभिन्न सम्बन्धित निकायहरूको सकारात्मक धारणा रहँदारहँदै पनि आजसम्म यस प्रस्तावले विभिन्न चरणमा हुने गरेका बिलम्वका कारण मूर्त रूप लिन सकेको छैन।
अतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो राम्रो छवि बनाइसकेको र आफ्नै स्वामित्वमा भौतिक पूर्वाधारको समेत व्यवस्थापन गरिसकेको यस कलेजलाई आफ्नो लक्ष्यमा अघि बढ्नका लागि विषयगत विशेषज्ञतायुक्त आमसञ्चार विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति प्रदान गरी दीर्घकालीन महत्वको ऐतिहासिक कार्यमा योगदान पु¥याई दिनुहुन हार्दिक अनुरोध गर्दछु।
विगत डेढ दशकदेखि सफलतापूर्व सञ्चालन भइरहेको आमसञ्चार तथा पत्रकारिता विषयको देशको पहिलो कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकै प्राज्ञिक तथा भौतिक पूर्वाधारमा खडा हुने यस प्रस्तावित विश्वविद्यालयलाई स्वीकृति दिलाउने बारे आवश्यक प्रक्रिया अविलम्ब अघि बढाइ विगत १४ वर्षदेखि एउटी समर्पित एकल महिलाले गरिरहेको अनवरत प्रयासलाई सफलिभूत बनाई देशमा गर्व गर्न लायक एक नमुना कामलाई साकार रूप दिलाउन सकारात्मक भूमिका खोलिदिनुहुन विनम्र निवेदन गर्दछु। सो निवेदनमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बोधार्थ दिनुभएको छ।
मेरो माग  
१. सञ्चार विश्वविद्यालयको केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका–११, कपन पैयँुटारमा कलेज अफ जर्नालिजमको आफ्नै नवनिर्मित भवनमा लिजमा रहनुपर्नेछ।
२. सञ्चार विश्वविद्यालयको स्थापनाको निमित्त विगत २० वर्षदेखि मैले अनवरत रूपमा प्रयास गरेको विभिन्न उकालीओराली र अवरोधको सामना गर्दै आइपुगेका कारण
३. मस्कोबाट पत्रकारितामै विद्यावारिधि (दोस्रो महिला) गरी आमसञ्चार तथा पत्रकारिता शिक्षाको इतिहासमा इतिहास रच्न सफल
४. म एकल महिलाले गरेको २० वर्ष लामो संघर्षलाई अग्रगामी सरकारले उचित मूल्याङ्कन गर्नेछ भन्ने मलाई पूर्ण विश्वाश छ।
मेरो प्रतिबद्धता
१. सन् २०२० को कलेजलाई दिइने नर्बेजियन् नोराड प्रोजेक्ट विश्वविद्यालयलाई दिने।
२. कम्युनिकेसन युनिभर्सिटी अफ चाइनालगायत अन्य युनिभर्सिटीसितको सहकार्य विश्वविद्यालयमा ल्याइने।
३. विश्वविद्यालयको नाममा बनाइएको सम्पूर्ण कागजपत्र र लोगो विश्वविद्यालयलाई हस्तान्तरण गरिने।
४. विश्वविद्यालयलाई व्यवस्थित गरेर अगाडि बढाइ साउथ एसियामा नमुना आमसञ्चार विश्वविद्यालयको रूपमा स्थापित गराउने।
५. पाँच वर्षपछि पूर्णरूपमा सबै जिम्मेवारीबाट विश्राम लिने।

प्रतिक्रिया दिनुहोस्