टुँडिखेलमा काँठे लोकदोहोरीको महोत्सव



डीएआर मुभिज एन्ड फिल्म्स् प्रालिको आयोजनामा राजधानीमा प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव शुरू भएको छ। टुँडिखेलमा जारी महोत्सव शुक्रबार लोकगायक कुमार बस्नेतले शुभारम्भ गरेका थिए।
नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धनका लागि काँठ क्षेत्रमा रहेको मेलापातमा झुन्डिएका तर व्यवसायिकरूपमा अगाडि आउन नसकेका लोकभाका, संगीतलगायतका सांस्कृतिक परिचय बोकेका अभिन्न अंगलाई उजागर गर्ने उद्देश्यका साथ शुरू गरिएको हो। विभिन्न जिल्लाका प्रतिनिधिका बीचमा प्रतिस्पर्धा हुने प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख, द्वितीयलार्य २ लाख र तृतीय हुनेलाई १ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ भने सान्त्वना हुनेलाई ५० हजार तथा उत्कृष्ट गायक तथा गायिकालाई १०–१० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएका छन्।
कार्यक्रम संयोजक नवराज ढुंगानाले हाल मौलिक मेलापातमा मात्र सीमित रहेका काँठे गीतको जगेना तथा डिजिटल बजारमा व्यावसायिकरूपमा अगाडि बढ्न महोत्सवको भूमिका रहने बताए। ‘हाम्रो काँठेगीत संगीतलाई पुरानै अवस्थामा फर्काउन र काँठ क्षत्रका नयाँ कलाकारहरूलाई एकै स्थानमा राखी नयाँ कलाकारको सिर्जना गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको छ।’ –उनले भने। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यक्रमको प्रमुख अतिथि बनाइए पनि उपस्थित नभएपछि मन्त्रीलाई प्रमुख अतिथि बनाउनु नै गल्ती भएको बताए। पत्रकार ऋषि धमलाले पहिलोपटक आयोजना गरिएको महोत्सवलाई सबै मिली सफल बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्