भ्यालेण्टाइन भिड अदालतमा



भ्यालेण्टाइन दिवस भर्खरै मनाएका प्रेमातुर पुरुष तथा महिलाको भिड आइतबार काठमाडौं जिल्ला अदालततिर देखेर धरहरा दंग थियो । प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासँग सम्बन्धित मुद्दाको सुनुवाई हुने दिनमा भूतपूर्व र वर्तमान प्रेमीहरु किन अदालततिर लागे, धरहरालाई पत्तालगाउन गारो भैरहेको थियो । तर ढिलो गरी थाहा पायो, महरालाई बलात्कारको अभियोग लागेपनि उनलाई प्रेमातुर प्राणीहरु अर्कै नजरले पो हेर्दारहेछन् । प्रेमी महरा कमरेडलाई सजायँ हुन्छ कि सफाई हुन्छ भन्ने बारेमा कौतुहलता साथ सयौं मानिस जिल्ला अदालत वरपर थिए ।
साँझ भइसक्दासमेत त्यसको परिणाम नआएपछि एकाध ब्यक्ति सधैं भ्यालेन्टाईन डे मा रमाउने महरालाई जे सुकै गरेपनि हामीलाई मतलव छैन भनेर हिंडेका पनि देखिए । साँझ झमक्कै परेपछि मिसिल अध्ययन गर्न समय अपुग भएकोले त्यसको परिणाम सोमबार मात्र आउने भनी अदालतबाट जानकारी पाएपछि भने धेरै जसोले भ्यालेन्टाईन डेका सम्राटको मुद्दाको फैसला भोलि मात्र सुन्न पाइने भो भन्दै निरास भएर तितर वितर भएको देखियो । घरफर्कने क्रममा भ्यालेन्टाइन प्रेमी तन्नेरीहरु कुन सोमरस खरिद गर्छन् भनेर पनि हेर्ने विचार धरहरालाई नआएको होइन, तर नशामा लगाएको माया दीर्घकालिक नहुने भएकोले रक्सीसक्सीको चक्करमा उनीहरु नलाग्न पनि सक्छन् भनेर धरहराले दुरबिन अन्यत्रै सोझ्यायो ।

प्रतिक्रिया दिनुहोस्